
काठमाडौं । देशमा अहिले पश्चिमी वायुको सामान्य प्रभाव कायम रहेकाले मौसममा आंशिक बदली देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज (शनिबार) बिहान देशका अधिकांश भू–भागमा आंशिक बादल लागेको छ भने तराईका केही स्थानमा मध्यान्नसम्म हुस्सु र कुहिरो लाग्ने सम्भावना छ । महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा सामान्य बदली रहनेछ ।
बाँकी पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ भने तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहने अनुमान छ । यद्यपि, तराईका केही भू–भागमा बिहानपख हुस्सु र कुहिरोका कारण दृश्यता कम हुन सक्ने भएकाले सवारी आवागमनमा सावधानी अपनाउन आग्रह गरिएको छ ।
विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका १–२ स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ । शनिबार राति भने मौसमको अवस्था धेरै फरक नहुने जनाइएको छ ।
तराईका थोरै स्थानमा तुँवालो लाग्ने सम्भावना छ भने कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली कायम रहनेछ । बाँकी भू–भागमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ ।
यी प्रदेशका उच्च हिमाली भेगका १–२ स्थानमा राति पनि हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । हाल तत्काल ठूलो वर्षा प्रणाली सक्रिय नभए पनि पश्चिमी वायुको प्रभावका कारण उच्च भू–भागमा मौसम अस्थिर रहन सक्ने भएकाले सम्बन्धित क्षेत्रका नागरिकलाई सतर्क रहन मौसमविद्हरूले सुझाव दिएका छन् ।

























