
सर्लाही। नेपाली कांग्रेसका सभापति गगन थापाले आफू चुनाव लड्न मधेस झर्दा सुरुमा आगन्तुकजस्तो देखिए पनि अहिले मधेसी परिवारको अङ्ग बन्ने प्रक्रिया सुरु भइसकेको बताएका छन्। शनिबार सर्लाही-४ को रामनगरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले मधेससँग गहिरो नाता जोड्नकै लागि आफू यहाँ आएको स्पष्ट पारे।
थापाले नयाँ गाउँ, नयाँ परिवेश र फरक खानपानका बीच आफू विस्तारै घुलमिल भइरहेको बताए। उनले भने, ‘म यहाँ आउँदा आगन्तुकजस्तो देखिए पनि अब म यो परिवारको अङ्ग बन्ने क्रम सुरु भइसक्यो। म त्यो नाता जोड्छु भनेरै आएको हुँ।’ चुनाव जित्नका लागि मात्रै आफूलाई काठमाडौँ छाडेर सर्लाही आउनुपर्ने बाध्यता नरहेको भन्दै उनले पार्टी सभापति भएपछि मधेसको अपनत्व लिनु जरुरी ठानेर यस्तो निर्णय गरेको उल्लेख गरे।
कांग्रेस र मधेसको ऐतिहासिक सम्बन्धबारे चर्चा गर्दै थापाले बिपी कोइरालाको प्रसङ्ग समेत कोट्याए। २०३६ को जनमत संग्रहपछि बिपीले नागरिकताको विषयलाई प्रमुखताका साथ उठाएको स्मरण गर्दै उनले मधेसमा कांग्रेस आगन्तुक नभई यहाँकै अभिन्न अङ्ग भएको दाबी गरे। मधेस नै कांग्रेसको जरा भएको र यसलाई अझ बलियो बनाउन आफू यहाँबाट उम्मेदवार बनेको उनको भनाइ थियो।
























