
विराटनगर । कोशी प्रदेश सरकार स्थापनाको आज (आइतबार) ८ वर्ष पूरा भएको छ । २०७४ साल फागुन ३ गते प्रदेश सरकार स्थापना भएको थियो ।
प्रदेश सरकार स्थापनाको आठौं वर्ष पूरा भएर नवौं वर्षमा प्रवेश गरेको हो । त्यस अवसरमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले उल्लेख्य प्रगति गरेको दाबी गरेका छन् । प्रदेश स्थापना दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले प्रदेशमा भएका उपलब्धिहरूलाई बेवास्ता गरी निरन्तर नकारात्मक प्रचार भइरहेको भनेर आलोचना गरेका छन् ।
मुख्यमन्त्री कार्कीले आफ्नो सन्देशमा नेपालको संविधान, २०७२ जारी भएपछि २०७४ साल मंसिरमा प्रदेशसभाको निर्वाचन सम्पन्न भई फागुन ३ गते गठन भएको कोशी प्रदेश सरकार आइतबारबाट नवौं वर्षमा प्रवेश गरेको स्मरण गराएका छन् । उनले ७ दशक लामो संघर्ष र २०६२–०६३ को ऐतिहासिक जनआन्दोलनको पृष्ठभूमिमा बनेको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानअनुसार प्रदेश सरकार सञ्चालन हुँदै आएको र छोटो अवधिमै महत्वपूर्ण उपलब्धि हासिल भएको बताए ।
भौतिक पूर्वाधार निर्माणदेखि सामाजिक विकाससम्म, जनताको जीवनस्तर उकास्न प्रदेश सरकारले उल्लेखनीय प्रगति गरेको मुख्यमन्त्री कार्कीको दाबी छ । उनले प्रदेश सरकारले जनतालाई प्रत्यक्ष अनुभव हुने कामहरूमा ध्यान दिँदै पारदर्शिता, जवाफदेहिता, जनमुखी सेवा र सुशासनलाई प्राथमिकता दिएको उल्लेख गरेका छन् ।
मुख्यमन्त्री कार्कीले यस अवधिमा प्रदेश सरकारले अनुभव अभिवृद्धि गर्दै आवश्यक कानुन निर्माण र कार्यान्वयनमा संघीय सरकारसँग सहकार्य, समन्वय र सहअस्तित्वलाई विशेष महत्व दिएको जानकारी दिए । उनका अनुसार ‘प्रदेशले केही गर्न सक्दैन’ भन्ने नकारात्मक प्रचारलाई चिर्दै आयोजना गरिएको लगानी सम्मेलनमा करिब २ खर्ब रुपैयाँको लगानी प्रतिबद्धता प्राप्त गर्नु प्रदेश सरकारले हासिल गरेको महत्वपूर्ण उपलब्धि हो ।
त्यस्तै, पर्यटन वर्ष घोषणा, पदमार्ग निर्माण र पर्यटन प्रवर्धनका परियोजनाहरू मार्फत प्रदेशको पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने प्रयास भइरहेको सन्देशमा उल्लेख छ । सडक सञ्जाल विस्तार, पुल निर्माण र कोरोना महामारीका चुनौतीका बाबजुद प्रभावकारी काम गर्दै प्रदेश सरकार जनतालाई अनुभूति हुने सरकारका रूपमा अघि बढिरहेको मुख्यमन्त्री कार्कीले बताए ।
मुख्यमन्त्री कार्कीले आफ्नो सन्देशमा प्रदेश सरकारलाई ‘देखिने, सुन्ने र अनुभव गर्न सकिने’ सरकारको रूपमा विकास गर्दै जनताको सरकारका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रदेश सरकारले स्थापनायता अनेक चुनौतीको सामना गरिरहेको छ ।
पहिलोपटक संघीयताको अभ्यास गरेको मुलुकमा प्रदेश संरचनाहरु स्थापना भएर संचालनमा छन् । मुख्यमन्त्रीको सन्देशले ८ वर्षको अवधिमा भएको प्रगति र चुनौतीहरूलाई उजागर गर्ने प्रयास गरेको छ । मुख्यमन्त्री कार्कीको दृष्टिमा कोशी प्रदेश अब प्रशासनिक संरचना मात्र नभई जनतालाई प्रत्यक्ष अनुभूति हुने र देखिने सुशासनको उदाहरण बन्ने दिशामा अग्रसर छ ।

























