ओलीको अभिव्यक्ति : चुनाव हुनेमा नै संशय कि सरकारलाई दबाब ?

Share this
763shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन ३, आइतबार १६:२६

विराटनगर । निर्वाचनलाई लिएर तयारी लगभग अन्तिम चरणमा पुगिसकेको छ । चुनाव सम्पन्न गर्न बाँकी काम धमाधम भइरहेको छ ।

तर, मुलुककै पूर्वप्रधानमन्त्री नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भने चुनावी वातावरणलाई लिएर संशयपूर्ण अभिव्यक्ति दिएका छन् । त्यसले राजनीतिक वृत्तमा नयाँ चर्चा र बहस जन्माएको छ ।

चुनाव हुनेमा आफूहरू आशावादी रहेको संकेत दिए पनि ‘अझै वातावरण बनेको जस्तो नदेखिएको’ टिप्पणी गरेर उनले सरकारलाई दबाब दिएका छन् । झापाको भद्रपुर विमानस्थलमा आइतबार सञ्चारकर्मीसँग कुराकानी गर्दै ओलीले चुनावका बारेमा ठोस निष्कर्ष निकाल्ने अवस्था नरहेको संकेत गरे ।

‘चुनाव हुने भयो भने हामी भाग लिन्छौं । चुनावको वातावरण यसै भन्न सकिन्नँ अझै पनि,’ उनले भने । सञ्चारकर्मीले ‘तपाईं के देख्नुहुन्छ ?’ भनेर सोध्दा ओलीले ‘चुनाव त हुन्छ भन्ठान्छु अब’ भन्दै केही आशावादी तर सतर्क जवाफ दिए ।

उनको जवाफले २ वटा सन्देश एकसाथ दिएको विश्लेषण भइरहेको छ । पहिलो एमाले चुनावबाट पछि हट्ने मनस्थितिमा छैन भन्ने स्पष्ट सन्देश । दोस्रो, सरकारले निर्वाचनको तयारीमा ढिलाइ गरिरहेको संकेत गर्दै दबाब सिर्जना गर्ने रणनीति ।

ओलीले स्पष्ट रूपमा भने, ‘चुनावको वातावरणबारे सरकारले जान्ने कुरा हो । हामीले हेर्दा अझै बनेको जस्तो देखिँदैन ।’ यस भनाइले सरकारलाई नै निर्वाचन तयारीको जिम्मेवारी सम्झाउँदै प्रश्नको घेरामा ल्याउने प्रयास गरेको बुझिन्छ । राजनीतिक रूपमा हेर्दा यो सत्तापक्षमाथि प्रत्यक्ष आरोप नभए पनि ‘वातावरण बनेको छैन’ भन्ने वाक्यांशले प्रशासनिक र सुरक्षालगायतका तयारी अपुग रहेको संकेत दिन्छ ।

एमाले अहिले निर्वाचन केन्द्रित अभियानमा छ । उनी काठमाडौंबाट आफ्नो निर्वाचन क्षेत्रमा आएका हुन् । ओली झापा–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन् ।

पार्टी चुनावी तयारीमा छ भने ‘वातावरण बनेको छैन’ भन्ने अभिव्यक्ति पूर्वप्रधानमन्त्रीबाटै किन ? भन्ने प्रश्न उठेको छ । ओलीले प्रत्यक्ष रूपमा चुनाव नहुने भन्ने आशंका व्यक्त गरेका छैनन् । तर, शंका र प्रश्नको ढोका खुला राखेको छ । ओलीको अभिव्यक्तिले राजनीतिक वृत्तमा चर्चा र बहस जनाएको छ ।

संसदीय प्रणालीमा निर्वाचन लोकतन्त्रको आधार हो । त्यसैले प्रमुख दलका शीर्ष नेताबाट आउने हरेक शब्दलाई अर्थपूर्ण रूपमा हेरिन्छ । विशेषगरी मुलुककै नेतृत्व सम्हालिसकेको एमालेजस्तो दलका अध्यक्षको अभिव्यक्ति सरकार र निर्वाचन आयोगका लागि संकेतका रूपमा लिइन्छ । ओलीले सरकारलाई समयमै आवश्यक प्रक्रिया पूरा गर्न दबाब दिएजस्तो पनि देखिन्छ ।

राजनीतिक विश्लेषक गिरिश भट्टराई बारम्बारको प्रधानमन्त्री र ठूलोमध्येको दलका अध्यक्षले दिएको अभिव्यक्तिले केही शंका भने पैदा गरेको बताउँछन् । ओलीलाई एमालेले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको छ । उनीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन साह (बालेन्द्र)लगायतका उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

विश्लेषक भट्टराईले अनुभवी राजनीतिज्ञले चुनावप्रति संशयपूर्ण अभिव्यक्ति दिइरहँदा नेपालको राजनीतिक भविष्य कता जाँदैछ ? भनेर आशंका उब्जिएको बताए । उनले भने, ‘भोलिको सम्भावित परिणामलाई लिएर उनी र उनको दलको ‘मोरल डाउन’ भएको हुन सक्छ । त्यो आँकलन गरेर डराएका हुन् कि ? भन्ने प्रश्न पनि उठेकै छ । फागुन २१ मा चुनाव नभए सबैभन्दा बलियो आवाज संसद पुनःस्थापनाको हुन्छ । फागुन २२ पछि बलियो राजनीतिक आधार भनेको संसद पुनःस्थापना मात्रै हो ।’

उनका अनुसार चुनावको हावा बगेजस्तो सम्भावित परिणाम आयो भने भोलि आफ्नो दल प्रमुख प्रतिपक्षी पनि नहुन सक्छ भन्ने बुझाइ हुन सक्छ । अर्थात्, वास्तवमा चुनावको आवश्यक तयारी नपुगेको पनि हुन सक्छ । ‘नेपाली राजनीतिमा केही न केही ‘खिचडी पाकिरहे’जस्तो देखिन्छ । केपी ओली एउटा ‘राजनीतिक स्टेकहोल्डर’ हुन् । त्यही भएर चुनाव आउनै लाग्दा दिएको अभिव्यक्ति भविष्यको मनोवैज्ञानिक त्रास हो वा अरु नै कारण छन् भनेर छुट्याउनुपर्छ,’ भट्टराईले भने ।

सरकार पक्षबाट भने चुनाव समयमै हुने दाबी दोहोरिँदै आएको छ । प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लाको भ्रमण गरिसकेकी छन् । सम्भावित मौसमले निर्वाचनलाई खासै प्रभाव नपार्ने सरकारको बुझाइ छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.