कोरामा बसेकै घरबाट विनोद ढकालको ३० बुँदे प्रतिबद्धता

Share this
748shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन ३, आइतबार १७:३५

विराटनगर । मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार, नेकपा (एमाले)का नेता विनोद ढकालले बुवाको निधनपछि कोरामा बसेकै अवस्थामा आफ्ना ३० बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् ।

विराटनगर–५ सम्झना चोकस्थित निवासबाट क्षेत्रगत विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, पर्यटन र सामाजिक सुरक्षासम्म समेटिएको विस्तृत योजना आइतबार बाहिर ल्याइएको हो । प्रतिबद्धता पत्र एमाले नेता सत्यनारायण चौधरीले सार्वजनिक गरेका थिए भने कार्यक्रममा मोरङ–६ का चुनावी कमाण्डर एवं पूर्वमन्त्री लालबाबु पण्डितले पत्रकारसँग सवालजवाफ गरेका थिए ।

शोकको घडीमा सार्वजनिक गरिएको प्रतिबद्धताले आफू व्यक्तिगत पीडामा रहे पनि जनताप्रतिको दायित्वबाट पछि नहट्ने सन्देश दिन खोजिएको नेताहरूले बताएका छन् । ढकालले शनिबार नै सन्देशमा जारी गरेर अहिले बुवाको काममा व्यस्त रहे पनि मन मतदातासँगै रहेको उल्लेख गरेका थिए ।

उनले पार्टीका कार्यकर्ताहरूले घरदैलोमा पुगेर आफ्ना एजेण्डा राख्ने जानकारी पनि दिएका छन् । ढकालको ३० बुँदे प्रतिबद्धतामा विराटनगरको ढल निकास तथा डुबान समस्या समाधानका लागि गुरुयोजना बनाउने, चक्रपथसहित प्रमुख सडक स्तरोन्नति गरी कालोपत्रे गर्ने र गछिया, बुढीखोला, केशलिया तथा सिंगिया नदी नियन्त्रणका लागि विशेष योजना ल्याउने उल्लेख छ । बन्द तथा रुग्ण उद्योग पुनः सञ्चालन, साना तथा घरेलु उद्योग प्रवर्धन र मजदुर हितका कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ ।

शिक्षातर्फ स्मार्ट क्लासरुम नीति, जेनजी लक्षित प्रविधिमैत्री सिकाइ, ‘पढ्दै–कमाउँदै’ कार्यक्रम, विश्वविद्यालय तथा क्याम्पसको सुव्यवस्था र स्वरोजगारमुखी शिक्षा लागू गर्ने योजना अघि सारिएको छ । मदरसा र गुरुकुलसहित धार्मिक विद्यालयलाई विश्वविद्यालयीय शैक्षिक कार्यक्रममा जोड्ने, थारु समुदायको भाषा संस्कृति संरक्षण गर्ने तथा मठमन्दिर, मस्जिद, चर्च, गुम्बालगायत सांस्कृतिक धरोहर संवर्द्धन गर्ने प्रतिबद्धता पनि जनाइएको छ ।

स्वास्थ्यतर्फ सरकारी तथा निजी अस्पतालमा विपन्न नागरिकको सहज पहुँच सुनिश्चित गर्ने, कृषिमा मल, बीउ र खाद समयमै उपलब्ध गराउने, सिँचाइ विस्तार तथा अर्गानिक खेतीलाई व्यवसायीकरण गर्ने योजना छ । कृषि उपज संकलन केन्द्र र शीत भण्डार सञ्चालनमा प्रोत्साहन गरिने उल्लेख छ ।

हसिना सिमसारलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने, कोशी नहरको विराटनगर शाखा करिडोर, गछिया र बुढीखोलाको किनार सुन्दर र हरियाली बनाउने, खुला व्यायामशाला तथा मिनीपार्क स्थापना गर्ने योजना अघि सारिएको छ । साथै, गछियालाई केन्द्र बनाएर प्रशासनिक कार्यालय स्थापना गर्न पहल गर्ने प्रतिबद्धता पनि छ ।

ढकालले पूर्वमन्त्री लालबाबु पण्डितको कार्यकालमा सुरु भई अधुरा रहेका आयोजना प्राथमिकताका साथ पूरा गर्ने बताएका छन् । क्षेत्रगत विकासको नेतृत्व गर्ने उनको प्रतिबद्धता छ ।

मोरङ–६ मा नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालासहित अन्य दलका र स्वतन्त्र गरेर १७ जना उम्मेदवार चुनावी मैदानमा छन् । शोकका बीच प्रतिबद्धता सार्वजनिक गरेर ढकालले चुनावी प्रतिस्पर्धामा आफूलाई सहयोग गर्न मतदातासँग आग्रह गरेका छन् ।  प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रममा एमाले नेता गुरु बराल, केन्द्रीय सदस्यहरु ऋषिकेश पोखरेल, पर्शुराम बस्नेतलगायतका नेता कार्यकर्ता उपस्थित थिए ।

यी हुन् विनोद ढकालका प्रतिबद्धता

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.