
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६७ जिल्लाको १५५ निर्वाचन क्षेत्रको मतपत्र छपाइ कार्य सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार हालसम्म प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ १ करोड ९१ लाख २४ हजार थान मतपत्र छपाइ भई ढुवानीका लागि तयारी अवस्थामा राखिएको छ ।
आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले बाँकी १० जिल्लाको पनि मतपत्र छपाइ भइसकेको र हाल प्याकिङको काम भइरहेको जानकारी दिए । अब केबल ११ लाख ९९ हजार थान मतपत्र मात्र छाप्न बाँकी छ, जुन आगामी २ दिनभित्र सम्पन्न हुनेछ । हालसम्म १७ हजार ७२८ बाकस मतपत्र प्याकिङ भइसकेको छ ।
समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार थान मतपत्र यसअघि नै माघ १३ गते छापेर तयारी अवस्थामा राखिएको थियो । प्रत्यक्षतर्फ कुल २ करोड ३ लाख २३ हजार मतपत्र छाप्नु पर्नेमा माघ १६ गतेदेखि सुरु भएको छपाइ कार्य अहिले अन्तिम चरणमा पुगेको हो ।
आयोगले शुक्रबारदेखि नै मतपत्र ढुवानी सुरु गरिसकेको छ । पहिलो चरणमा कर्णाली, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका दुर्गम जिल्लाहरूमा मतपत्र पठाइएको छ । सुगम र सहरी क्षेत्रमा भने छिट्टै पठाइने आयोगले जनाएको छ । हाल जनक शिक्षा सामग्री केन्द्रमा दैनिक ११ देखि १५ लाखसम्म मतपत्र छपाइ र करिब १ हजार बाकस प्याकिङ भइरहेको छ ।
यसअघि आयोगले १० लाख ९८ हजार २ सय नमुना मतपत्र छापेर विभिन्न जिल्लामा पठाइसकेको छ । काठमाडौँ उपत्यका वरपरका जिल्लाहरूको मतपत्र छपाइ भने अन्तिम चरणमा रहेको आयोगले जनाएको छ ।
























