इटहरीका वडाध्यक्षलाई एमालेको कारबाही

Share this
627shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन ३, आइतबार १९:०७

विराटनगर । नेकपा (एमाले) सुनसरीले इटहरी उपमहानगरपालिका–१७ का निर्वाचित वडाअध्यक्ष प्रभातकुमार आचार्यलाई कारबाही गरेको छ ।

पार्टी निर्णय र नीति विपरीत कार्य गरेको आरोपमा एमालेले निष्कासनको कारबाही गरेपछि स्थानीय राजनीतिमा चासो सिर्जना भएको छ । एमाले जिल्ला सदस्य आचार्यलाई पटकपटक सचेत गराउँदा पनि निर्देशन र नीति पालन नगरी आफ्नो गतिविधि जारी राखेको पार्टीको दाबी छ ।

एमालेको नीति तथा नेतृत्वको विरोधमा कार्य गरेको ठहर गर्दै कारबाही गरिएको विषय आचार्यका छोरा आदित्य आचार्यसँग सम्बन्धित छ । जो सुनसरीको निर्वाचन क्षेत्र नम्बर २ मा फागुन २१ का लागि स्वतन्त्र उम्मेदवार बनेका छन् । आचार्यविरुद्ध आफ्ना छोराका लागि मत मागेको र पार्टीविरुद्ध अभिव्यक्ति दिएको एमालेको दाबी छ ।

उनी तत्कालीन माओवादीबाट एमाले प्रवेश गरेको पार्टीले जनाएको छ । आचार्यले भने आफूलाई पार्टीले कारबाही गरेको विषय थाहा नभएको बताए । उनले स्वतन्त्र उम्मेदवार उठ्नु छोराको अधिकार भएको बताए । तर, छोरालाई भोट भने नमागेको उनको भनाइ छ ।

सुनसरी–२ मा एमालेबाट सुजन लामा, कांग्रेसबाट केन्द्रीय सदस्य राजीव कोइराला, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट केन्द्रीय सदस्य तथा पूर्वकृषि राज्यमन्त्री रामकुमारी चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट कोशी प्रदेश महामन्त्री लालविक्रम थापालगायत प्रतिस्पर्धामा उत्रिएका छन् । जम्मा २८ जना उम्मेदवार छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.