
काठमाडौं । देशभरको मौसममा अहिले पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (सोमबार) बिहानसम्म गण्डकी प्रदेशका अधिकांश क्षेत्रमा सामान्य बदली रहने छ भने अन्य पहाडी र हिमाली भू–भागमा आंशिक बदली देखिएको छ । तराईका अधिकांश स्थानमा भने मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा हल्का वर्षा तथा हिमपात भइरहेको छ । विशेषगरी उच्च भू–भागमा तापक्रम घटेसँगै हल्का हिमपातको अवस्था बनेको हो । यसले ती क्षेत्रमा चिसो बढाएको छ ।
सोमबार दिउँसोसम्म तराईका केही जिल्लामा हुस्सु तथा कुहिरो लाग्न सक्ने पूर्वानुमान गरिएको छ । बिहानको समयमा देखिने बाक्लो कुहिरोका कारण दृश्यता घट्न सक्ने भएकाले सवारीसाधन सञ्चालनमा सावधानी अपनाउन महाशाखाले सुझाव दिएको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने प्रक्षेपण गरिएको छ । दिउँसोपछि अधिकांश स्थानमा मौसम क्रमशः सुधार हुँदै जाने सम्भावना रहेको बताइएको छ ।
पश्चिमी वायुको आंशिक प्रभाव केही दिन कायम रहने भए पनि देशभर ठूलो वर्षा वा व्यापक हिमपातको सम्भावना भने नरहेको महाशाखाले स्पष्ट पारेको छ । मौसम सामान्यतर्फ उन्मुख भइरहे पनि उच्च पहाडी क्षेत्रमा बसोबास गर्ने नागरिकलाई चिसोबाट जोगिन आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

























