सुनसरी–१ : कम्युनिष्ट गढमा नयाँ शक्तिको परीक्षण

Share this
705shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन ४, सोमबार ०७:४२

धरान । सुनसरी जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ यतिबेला चुनावी सरगर्मीको केन्द्र बनेको छ । १ लाख ५० हजार ३ सय ९३ मतदाता रहेको यस क्षेत्रमा ४१ वटा मतदानस्थल र १ सय ६१ वटा मतदान केन्द्र छन् ।

जिल्ला निर्वाचन कार्यालय सुनसरीका अनुसार यस क्षेत्रमा ७२ हजार १ सय ८० पुरुष, ७८ हजार २ सय १२ महिला र १ जना अन्य मतदाता रहेका हुन् । निर्वाचनको तयारी तीव्र बन्दै जाँदा उम्मेदवारहरू घरदैलो, कार्यकर्ता भेटघाट र आआफ्ना कार्यकालका विकास निर्माणका गतिविधि प्रस्तुत गर्दै मतदातामाझ पुगिरहेका छन् ।

यस क्षेत्रअन्तर्गत धरान उपमहानगरपालिकाका २० वटै वडा, बराहक्षेत्र नगरपालिकाको १ देखि ५ नम्बर वडा र रामधुनी नगरपालिकाका ६ र ७ नम्बर वडा पर्दछन् । विगतमा कम्युनिष्ट गढ मानिएको यो क्षेत्र पछिल्ला निर्वाचनहरूमा भने विभाजित जनमतका कारण बहुदलीय प्रतिस्पर्धाको मैदान बनेको छ । पछिल्लो समय कम्युनिष्ट गढमा नयाँ शक्तिको परीक्षण भइरहेको छ ।

२०७९ सालको स्थानीय तह निर्वाचनमा धरान, बराहक्षेत्र र रामधुनीका वडाहरूमा नेकपा (एमाले)ले १३ स्थानमा जित हात पार्दा नेपाली कांग्रेसले ११ स्थान र तत्कालीन नेकपा (माओवादी केन्द्र)ले १ स्थानमा विजय हासिल गरेका थिए । यस तथ्यांकले क्षेत्रको राजनीतिक धरातल सन्तुलित र प्रतिस्पर्धात्मक रहेको संकेत गर्दछ ।

यसपटकको निर्वाचनलाई विशेष बनाउने मुख्य कारण धरानका पूर्वमेयर हर्कराज राई (हर्क साम्पाङ)सहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की गोमा तामाङ सरिन, कांग्रेसका सुजेन्द्र तामाङ, एमालेका टीकाराम लिम्बू र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सूर्यबहादुर भट्टराईजस्ता चर्चित अनुहारहरूको प्रतिस्पर्धा हो । धरान उपमहानगरपालिकाबाट २०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा अप्रत्यासित जित हात पारेर चर्चामा आएका साम्पाङ यसपटक ‘श्रम संस्कृति पार्टी’बाट प्रतिनिधिसभा सदस्यका लागि मैदानमा उत्रिएका छन् ।

खानेपानी समस्यालाई प्रमुख मुद्दा बनाएर मतदाताको सहानुभूति जितेका साम्पाङले करिब ३ बर्से कार्यकालमा कोकाहा खोलाबाट धरानसम्म पानी ल्याउने अभियान, श्रमदान कार्यक्रम र सुशासनको नारालाई प्राथमिकता दिएका थिए । यद्यपि, श्रमदान अभियान र उपप्रमुख तथा वडाध्यक्षहरूसँगको पटकपटकको विवादले उनको कार्यकाल आरोहअवरोहपूर्ण रह्यो ।

बजार क्षेत्रमा खानेपानी समस्या आंशिक रूपमा समाधान भएको भन्दै केही स्थानीय गृहिणीहरूले सकारात्मक प्रतिक्रिया दिए पनि समग्र मूल्यांकन मिश्रित देखिन्छ । गत माघ ४ गते मेयर पदबाट राजीनामा दिएर निर्वाचनमा होमिएका ४३ वर्षीय साम्पाङले माघ ६ गते उम्मेदवारी दर्ता गराउँदै नीति निर्माण तहमा देखिएका अवरोध हटाई धरानको दीर्घकालीन विकासका लागि केन्द्रीय स्तरमा आवाज उठाउने बताएका छन् । उनको पार्टीले कोशी प्रदेशका २८ मध्ये २७ निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको छ ।

नेपाली कांग्रेसले यसपटक ४९ वर्षीय सुजेन्द्र तामाङलाई अघि सारेको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको जागिर त्यागेर ५ वर्षअघि सक्रिय राजनीतिमा प्रवेश गरेका तामाङले क्षेत्रीय सभापति र जिल्ला सचिवको जिम्मेवारीसमेत सम्हालिसकेका छन् । उनी अहिले घरदैलो अभियानमा व्यस्त छन् ।

कम्युनिष्ट दलहरूको आन्तरिक अस्थिरतालाई राजनीतिक अवसरका रूपमा हेर्दै कांग्रेसले यस क्षेत्रमा लाभ लिन सक्ने विश्लेषण भइरहेको छ । तामाङले धरानको दीर्घकालीन खानेपानी समाधानका लागि केन्द्रीय सरकारसँग समन्वय गर्ने, गोर्खा भूपूहरूको सेवा सुविधा तथा नागरिकता समस्या समाधान गर्ने, भौतिक पूर्वाधार विकास र सुकुम्बासी समस्या सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यद्यपि, २०७९ सालको निर्वाचनमा कांग्रेसले गठबन्धनको सहारा बिना यस क्षेत्रमा उल्लेखनीय उपस्थिति जनाउन सकेको थिएन ।

एमालेभित्र उम्मेदवार चयनकै क्रममा देखिएको मतभिन्नताले यस क्षेत्रको राजनीतिक तापक्रम बढाएको थियो । प्रारम्भमा सूर्य पन्धाकलाई उम्मेदवार बनाउने निर्णय भए पनि अन्ततः स्थानीय दबाब र नेताहरूको पहलमा ४१ वर्षीय टीकाराम लिम्बूलाई टिकट दिइएको हो ।

धरान–१७ का स्थानीय लिम्बू अनेरास्ववियु सुनसरीका पूर्वअध्यक्ष हुन् । राजनीति शास्त्रमा स्नातकोत्तर र कानुनमा एलएलबी गरेका लिम्बू २०७४ सालमा धरानका प्रमुख तारा सुब्बाको सचिवालयमा कार्यरत थिए । विद्यार्थी राजनीतिबाट उदाएका लिम्बूलाई एमालेले नयाँ पुस्ताको प्रतिनिधिका रूपमा प्रस्तुत गरेको छ । ताप्लेजुङको हालको श्रीजंगा गाउँपालिका–६ मा जन्मिएका लिम्बू अध्ययनका क्रममा धरान बसाइँ सरेका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की गोमा तामाङ सरिन यस क्षेत्रकी परिचित र प्रभावशाली महिला उम्मेदवार हुन् । २०७९ सालको निर्वाचनमा दोस्रो स्थान हासिल गर्दै उनले उल्लेखनीय मत प्राप्त गरेकी थिइन् । त्यतिबेला जनता समाजवादी पार्टी (जसपा) नेपालका अशोक राईसँग ४ सय ५३ मतको अन्तरले पराजित भए पनि उनले १६ हजार ६ सय ६ मत ल्याएर आफ्नो लोकप्रियता प्रमाणित गरेकी थिइन् ।

५२ वर्षीया तामाङ हाल रास्वपाको कोशी प्रदेश कार्यवाहक अध्यक्षको भूमिकामा छिन् । राजनीतिले आफूलाई सकारात्मक सोच सिकाएको र सामाजिक कामले जीवनको पाठ सिकाएको बताउँदै उनी फेरि मतदातामाझ पुगेकी छन् ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट उम्मेदवार बनेका ४२ वर्षीय सूर्यबहादुर भट्टराई पनि धरान उपमहानगरपालिका–१७ का प्रभावशाली नेता मानिन्छन् । २०७४ र २०७९ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन नेकपा (माओवादी केन्द्र)बाट वडाध्यक्ष निर्वाचित भएका भट्टराई मेयर साम्पाङसँगको विवादका कारण चर्चामा आएका थिए ।

उनी वडाध्यक्षबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका हुन् । २ हजार १ सय ७६ मतका साथ वडाध्यक्ष बनेका उनले यसपटक १६ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गर्दै संविधान संशोधन पहलदेखि विभेदकारी कानुनी व्यवस्थाको अन्त्यसम्मका विषय उठाएका छन् । धरानमा माओवादीतर्फबाट पहिलो निर्वाचित जनप्रतिनिधिका रूपमा चिनिएका भट्टराई धनकुटाको आँखीसल्लाबाट धरान बसाइँ सरेका हुन् ।

यस निर्वाचन क्षेत्रमा १९ राजनीतिक दल र ७ स्वतन्त्र उम्मेदवार गरी कुल २६ जना प्रतिस्पर्धामा छन् । समावेशी विवरणअनुसार ७६ दशमलव ९२ प्रतिशत आदिवासी जनजाति, १५ दशमलव ३८ प्रतिशत खस आर्य र ७ दशमलव ६९ प्रतिशत अन्य समुदायका उम्मेदवार रहेका छन् ।

सुनसरी–१ को राजनीतिक भूगोल, विगतको मतपरिणाम, उम्मेदवारहरूको व्यक्तिगत प्रभाव र पार्टीगत समीकरणलाई हेर्दा यसपटकको निर्वाचन निकै प्रतिस्पर्धात्मक हुने संकेत देखिएको छ । धरानको खानेपानी, भौतिक पूर्वाधार, सुकुम्बासी समस्या, रोजगारी र संघीय नीतिगत हस्तक्षेपजस्ता मुद्दा मतदाताको निर्णयका प्रमुख आधार बन्ने देखिन्छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.