पूर्वप्रधानमन्त्रीलाई ‘गिज्याउँदै’ कनकाईकाे अलपत्र पुल : भाटे पुल तर्दा तिर्नुपर्छ सय रूपैयाँ

Share this
620shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन ५, मंगलबार १०:३५

विराटनगर । हुलाकी राजमार्गअन्तर्गत झापाको गौरीगञ्ज र झापा गाउँपालिका जोड्ने कनकाई (माई) खोलाको पुल निर्माण सुरु भएको १४ वर्ष पुग्यो । तर, पुल अझै अलपत्र छ ।

अचम्म त के छ भने, जुन ठाउँमा पक्की पुल बन्नुपर्ने थियो, त्यही पुलको ठिङ्ग उभिएका पिलरमुनि बासको भाटे पुल हालेर १७ वर्षीय सुमन माझी यात्रुसँग पैसा असुलिरहेको भेटिन्छन् । यो कुनै आधिकारिक दस्तुर होइन, राज्यको लाचारीले निम्त्याएको बाध्यताको शुल्क हो । पुल नबन्दा माझी परिवारले आफ्नै खर्चमा बनाएको बाँसको भाटे पुल तरेबापत सर्वसाधारणले महँगो शुल्क तिर्नु परिरहेको छ ।

सुमन माझीका लागि यो काम नयाँ होइन । उनका बुवा सुदानन्द माझी र हजुरबुवा ईश्वर माझीले पनि यही ठाउँमा कच्ची पुल बनाएर पैसा उठाउँछन् । सुमन पालो दिन खटिएका हुन् ।

पुल तरेबापत उनले मोटरसाइकल र यात्रुसँग सय रुपैयाँ, साइकलको ५० र पैदल यात्रीसँग २० रुपैयाँ उठाउँछन् । ‘पोहोरसम्म मोटरसाइकलको ५० रुपैयाँ थियो । यो वर्ष १ सय बनाएका छौं,’ सुमन भन्छन्, ‘१ पटक सय रुपैयाँ तिरेपछि दिनभर जति पटक ओहोरदोहोर गरे पनि पैसा लाग्दैन ।’

उनको दाबी अनुसार दैनिक ३०–४० वटा मोटरसाइकल चल्छन् । तर, स्थानीयका अनुसार यो संख्या २०० भन्दा बढी छ । हुलाकी सडकले गौरीगञ्जको वडा नम्बर १ लाई छुन्छ ।

पालिकाको ३, ४, ५ र ६ नम्बर वडाहरू पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा पर्छ । २०४८ सालदेखि (२०६४ बाहेक) निरन्तर चुनाव जित्दै आएका ओलीको गृहजिल्लाको बेहालले राज्यको विकास नीतिलाई नै गिज्याइरहेको छ ।

गौरीगञ्ज बजारका इन्द्रप्रसाद ताजपुरिया भन्छन्, ‘झापा बजार जाँदा सधैँ दुःख पाइन्छ । एउटा बाइकको सय रुपैयाँ तिर्नुपर्छ । दिनहुँ हिँड्नेले त महिनाको ३ हजार त पुलमै बुझाउनुपर्छ । बर्खा लागेपछि त झन् महेन्द्र राजमार्ग घुमेर जानुको विकल्प छैन ।’

गौरीगञ्ज–१ का वडाध्यक्ष कात्तिकलाल राजवंशीका अनुसार गाउँपालिकाले बर्खामा नाउ (डुंगा) चलाउन ठेक्का दिएको हो । ‘पालिकाले मोटरसाइकलको ८० रुपैयाँसम्म लिन पाउने गरी ठेक्का दिएको हो । तर, सय रूपैयाँ लिएको गुनासो आएपछि हामीले ठेकेदारलाई सचेत गराएका छौँ,’ उनले भने ।

२०६८ जेठ १ गते पप्पु–महादेव–खिम्ती जेभीले २०७२ जेठ २९ सम्म सम्पन्न गर्ने गरी यो पुलको ठेक्का लिएको थियो । तर, ५ पटकसम्म म्याद थप्दा पनि जम्मा ५६ प्रतिशत मात्र काम सकियो । गत मंसिर ११ गते सरकारले ठेक्का सम्झौता त तोड्यो । तर, नयाँ प्रक्रिया अझै सुरु हुन सकेको छैन ।

हुलाकी राजमार्ग निर्देशनालय इटहरीका सूचना अधिकारी इन्जिनियर उपेन्द्र दासका अनुसार नयाँ ठेक्काका लागि १६५ करोड रुपैयाँको स्रोत सुनिश्चितता माग गर्दै अर्थ मन्त्रालयमा फाइल पठाइएको थियो । तर, अर्थ मन्त्रालयले फाइल अस्वीकृत गरिदिएपछि नयाँ टेण्डर प्रक्रिया अन्योलमा परेको छ । ‘अहिलेको संरचना प्रयोग गर्न मिल्ने वा नमिल्ने परीक्षण पनि बाँकी छ, दासले भने ।

झापाकै रतुवा खोलाको पुल पनि १७ वर्षपछि बल्ल निर्माण सम्पन्न भई गत असारमा पूर्वप्रधानमन्त्री ओलीले नै उद्घाटन गरेका थिए । रतुवाको समस्या समाधान भए पनि कनकाईको व्यथा भने उस्तै छ ।

तपाइको प्रतिक्रिया
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.