
विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मोरङको क्षेत्र नम्बर ५ मा नेकपा (एमाले)का तर्फबाट उम्मेदवार रहेका मनोजकुमार अग्रवालले सोमबार आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन् ।
अग्रवालले आफ्नो लामो राजनीतिक र विद्यार्थी जीवनमा पार्टी तथा जनताको पक्षमा आवाज बुलन्द गर्दै आएको बताएका छन् । उनले क्षेत्रको समग्र विकास, शिक्षा, स्वास्थ्य, कृषि, उद्यम, संस्कृति र सामाजिक सुरक्षाका सवालमा व्यापक प्रतिबद्धता जनाउँदै प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।
उम्मेदवार अग्रवालले सडक, पूर्वाधार र जलस्रोत व्यवस्थापनमा विशेष ध्यान दिने प्रतिबद्धता जनाएका छन् । रंगेली–विराटनगर हुलाकी मार्गको स्तरोन्नति र आधुनिक मार्गमा विकास, दक्षिणी सीमा क्षेत्रमा नयाँ पर्यटन मार्गको निर्माण, क्षेत्रभित्रका सम्पूर्ण सडक, नाला र बिजुली, खानेपानी तथा टेलिफोन जडान कार्य आगामी ५ वर्षभित्र सम्पन्न गर्ने योजना उनले सार्वजनिक गरेका छन् ।
साथै, स्वच्छ हरियाली र वृक्षारोपण, क्षेत्रीय विकास कोष स्थापना र तटबन्धन तथा सिंचाइ योजनामा विशेष पहल गरिनेछ । शिक्षा र स्वास्थ्य क्षेत्रमा अग्रवालले सबै सामुदायिक विद्यालयको स्तरोन्नति, आधुनिक कम्प्युटर र इन्टरनेटको व्यवस्था, खेलमैदान निर्माण, व्यावसायिक तालिम केन्द्र स्थापना र विद्यार्थीले काम गर्दै पढ्न सक्ने सुविधा सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
रंगेली अस्पताल तथा धनपालथान, जहदा र विराटनगरका स्वास्थ्य संस्थालाई आधुनिक र सुविधा सम्पन्न बनाउने योजना पनि उनले प्रस्तुत गरेका छन् । अग्रवालले उद्यम र रोजगारी प्रवर्धनमा विशेष ध्यान दिने जनाएका छन् ।
विराटनगर उद्योग क्षेत्र पुनःसक्रियकरण, कृषि तथा स्वरोजगारका तालिम सञ्चालन, कृषि उत्पादनको सहज बिक्री वितरण, नवउद्योग स्थापना र युवालाई रोजगारी तथा आत्मनिर्भर बनाउने योजना उनी सार्वजनिक गरेका छन् ।अग्रवालले धार्मिक स्थलको स्तरोन्नति, सांस्कृतिक संग्रहालय निर्माण, ऐतिहासिक स्थल र रिङ्गरोडमार्गको विकास गरी पर्यटक आकर्षण बढाउने योजना जनाएका छन् ।
युवा, महिला, ज्येष्ठ नागरिक, निमुखा र अशक्त वर्गका लागि रोजगार, स्वास्थ्य सेवा, निःशुल्क बीमा, न्याय परामर्श र सामाजिक सुरक्षा कार्यक्रम प्रभावकारी बनाउने प्रतिबद्धता उनले व्यक्त गरेका छन् । उम्मेदवार अग्रवालले पार्टीको प्रतिबद्धता कार्यान्वयनसँगै मोरङ–५ लाई समग्र विकासको मूलधारमा ल्याउने र जनता खुसी बनाउने आफ्नो लक्ष्यमा जोड दिएका छन् । उनले निर्वाचनमा पार्टीको चुनाव चिन्ह सूर्यमा मत दिएर जित सुनिश्चित गर्न सबै मतदातालाई आग्रह गरेका छन् ।
यस्तो छ प्रतिबद्धता पत्रको पूर्णपाठ
























