जेल प्रकरणमा रविको स्पष्टीकरण: ‘मलाई जबर्जस्ती निकालियो, कैदी भगाएको होइन’

Share this
759shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन ४, सोमबार १९:२४

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ‘जेन-जी’ आन्दोलनका बेला आफू जेलबाट निस्किएको विषयमा स्पष्टीकरण दिएका छन् । चितवन-२ मा घरदैलोका क्रममा एक मतदाताले ‘तपाईँले नै कैदीबन्दी भगाउन नेतृत्व गर्नुभएको हो ?’ भनी सोधेको प्रश्नमा लामिछानेले संयमित जवाफ दिएका हुन् ।

आफूमाथि लागेको आरोपको खण्डन गर्दै लामिछानेले भने, ‘५-६ वटा फलामे ढोकाभित्र थुनिएको मान्छेले कसरी कैदी भगाउन सक्छ ? मलाई त जेल प्रशासनले नै पत्र थमाएर जबर्जस्ती बाहिर आगो बलिरहेको भीडमा पठाएको हो ।’

उनले छानबिन आयोगको बयानमा आफू निर्दोष ठहर भइसकेको र जेलरले समेत आफूले ‘जेल जोगाउन खोजेको’ बताएको दाबी गरे । ‘ठूला नेताहरू हेलिकप्टर चढेर सुरक्षित ठाउँमा भाग्दा मलाई चाहिँ असुरक्षित भीडमा धकेलियो,” उनले थपे, “मैले कैदी भगाएको चर्चामा कत्तिको सत्यता छ, त्यो जनताकै विवेकमा छोडिदिएँ ।’

सहकारी ठगी प्रकरणमा नख्खु कारागारमा रहेका लामिछाने भदौ २४ को आन्दोलनका क्रममा बाहिर निस्किएका थिए, जसलाई लिएर विपक्षीले ‘जेलबाट भागेको’ आरोप लगाउँदै आएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.