
काठमाडौं। नेपालमा हाल पश्चिमी वायुको सामान्य प्रभाव परेको छ। यसका कारण कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
देशका अन्य भूभागमा भने मौसम मुख्यतया सफा रहेको छ। तराईका केही स्थानमा आज मध्यान्नसम्म हुस्सु र कुहिरो लाग्ने सम्भावना छ। दिउँसो कोशी, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भेगका एक-दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने अनुमान गरिएको छ।
आज राति तराईका थोरै स्थानमा तुवाँलो लाग्ने देखिएको छ। कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहे पनि अन्य ठाउँको मौसम सफा रहनेछ। राति गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ।

























