
राजविराज। नेकपा (एमाले) परित्याग गरेका पूर्वमन्त्री जितेन्द्रनारायण देव मंगलबार नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। सप्तरीको राजविराजस्थित कांग्रेस पार्टी कार्यालयमा आयोजित एक विशेष कार्यक्रमका बीच उनी पुनः पुरानै पार्टीमा फर्किएका हुन्।
देवलाई कांग्रेसका जिल्ला सभापति रामदेव साह, उपसभापति रामकुमार यादव र राष्ट्रियसभा सदस्य रञ्जित कर्ण लगायतले फूलमाला लगाएर स्वागत गरे। पार्टी प्रवेशपछि नेता देवले गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिप्रति आफ्नो पूर्ण प्रतिबद्धता रहेको बताए। उनले कांग्रेसको विशेष महाधिवेशनले अघि सारेका नवीन नीतिहरूलाई आत्मसात् गर्दै राजनीतिमा सक्रिय हुने उल्लेख गरे।
विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय देवको राजनीतिक यात्रा निकै उतारचढावपूर्ण रहेको छ। यसअघि २०८१ असारमा कांग्रेस छाडेर एमाले प्रवेश गरेका उनले गत माघ १९ गते एमाले परित्यागको घोषणा गरेका थिए। उनी मधेसी जनअधिकार फोरम लोकतान्त्रिक हुँदै कांग्रेसमा आएका थिए भने यसअघि कांग्रेसकै तर्फबाट राष्ट्रियसभा सदस्य समेत बनेका थिए।
























