
धनकुटा। धनकुटा प्रहरीले विगत ४ आर्थिक वर्षदेखि लागुऔषध ओसारपसार र बिक्रीमा प्रयोग हुँदै आएका १५ भन्दा बढी साना तथा ठूला सवारीसाधन नियन्त्रणमा लिएको छ । लागुऔषध कारोबारमा भारतीय नम्बर प्लेटका कारदेखि आकस्मिक सेवाका एम्बुलेन्स समेत प्रयोग भएको पाइएको छ ।
प्रहरीले ब्राउनसुगर र गाँजा ओसारपसारमा संलग्न कारोबारीसँगै ४ वटा कार, ४ वटा पिकअप, २ वटा जीप, २ वटा ट्रक/मिनिट्रक र भन्सार छुटमा ल्याइएका २ वटा एम्बुलेन्स जफत गरेको हो । धनकुटाका एसपी शरतकुमार थापा क्षेत्रीका अनुसार कारोबारीहरूले सुरक्षित ओसारपसारका लागि एम्बुलेन्स जस्ता संवेदनशील सवारीसाधनको समेत दुरुपयोग गरेको देखिएको छ ।
नियन्त्रणमा लिइएका यी सवारीसाधनहरू हाल सदरमुकामस्थित गोकुण्डेश्वर माध्यमिक विद्यालय उत्तरतर्फको जमिन र मूलघाट चौकी परिसरमा राखिएका छन् । कसुरको प्रकृति र प्रमाणका आधारमा यी सवारीसाधनको भविष्यबारे अदालतको अन्तिम फैसला कुरिएको एसपी थापा क्षेत्रीले बताए ।
अदालतको निर्णय आएपछि मात्र यी सवारीसाधनलाई के गर्ने भन्नेबारे कानुनी प्रक्रिया अघि बढ्ने प्रहरीको भनाइ छ ।

























