
काठमाडौं। मेडिकल व्यवसायी एवं ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले उनलाई हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएका हुन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले प्रसाईंमाथि सार्वजनिक शान्ति विरुद्धको कसुर र अफवाह फैलाएको आरोपमा अनुसन्धान भइरहेको बताए। सोमबार साँझ भक्तपुरबाट पक्राउ परेका प्रसाईंले पछिल्लो समय सरकारसँगको सम्झौता पूरा नभए अनिश्चितकालीन बन्द गराउने र निर्वाचन हुन नदिने जस्ता उत्तेजित अभिव्यक्ति दिँदै आएका थिए।
यसअघि माघ २३ गते पनि पक्राउ परेका प्रसाईं हाजिर जमानीमा छुटेका थिए। त्यसबेला निर्वाचनका विषयमा उनले दिएको अभिव्यक्तिका आधारमा साइबर ब्यूरोले बयान लिएर उनलाई छाडेको थियो। त्यस्तै, माघ ५ गते पनि उनी पोखराबाट पक्राउ परेर छुटेका थिए। पटक–पटक पक्राउ पर्दै छुट्दै आएका प्रसाईंमाथि यसपटक भने प्रहरीले सार्वजनिक शान्तिमा खलल पुर्याएको भन्दै गम्भीरतापूर्वक अनुसन्धान अघि बढाएको छ।

























