प्रश्नबाट भाग्दैछन् बालेन, सार्वजनिक बहस बहिष्कार

Share this
785shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन ६, बुधबार १७:२९

झापा । झापाको निर्वाचन क्षेत्र नम्बर ५ को चुनावी मैदान यसपटक असाधारण रूपमा तातेको छ । प्रतिनिधिसभा सदस्यका लागि पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन्द्र साह (बालेन) आमनेसामने भएपछि राष्ट्रिय राजनीतिको ध्यान यही क्षेत्रमा केन्द्रित भएको छ ।

तर, झापा–५ मा मंगलबार आयोजित सार्वजनिक बहस (पब्लिक डिबेट) कार्यक्रममा देखिएको एउटा दृश्यले चुनावी बहसलाई नयाँ मोड दिएको छ । मञ्चमा अरू उम्मेदवार उपस्थित हुँदा बालेनको कुर्सी भने कार्यक्रम अवधिभर खाली रह्यो ।

‘पब्लिक डिबेट’ कार्यक्रममा उम्मेदवारहरूले एकै मञ्चबाट शिक्षा, स्वास्थ्य, पूर्वाधार, रोजगारी, कृषि, उद्योग र स्थानीय विकाससँग सम्बन्धित विषयमा नागरिकका प्रत्यक्ष प्रश्नको जवाफ दिइरहेका थिए । पत्रकार विजय पौडेलले सञ्चालन गरेको उक्त कार्यक्रममा एमाले अध्यक्ष ओलीसँगै नेपाली कांग्रेसकी मन्धरा चिमरिया, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का रञ्जित तामाङ, नेपाल जनमुक्ति पार्टीका पदमबहादुर जबेगू र जनता समाजवादी पार्टी (जसपा)का धीरेन सुब्बालगायतका उम्मेदवार सहभागी थिए । तर, रास्वपाले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका बालेन भने उपस्थित भएनन् ।

बालेनका लागि मञ्चमा छुट्टै कुर्सी राखिएको थियो । तर, कार्यक्रम सुरु भएर अन्त्य हुँदासम्म त्यो कुर्सी खाली रह्यो । यही दृश्य सामाजिक सञ्जालमा भाइरल बन्यो । त्यसपछि सुरु भयो बालेनको आलोचनाको शृङ्खला ।

वरिष्ठ पत्रकार किशोर श्रेष्ठले सार्वजनिक रूपमा बालेनमाथि एकपछि अर्को प्रश्न तेर्साएका छन् । उनले बालेनको अघिल्लो राजनीतिक आचरणदेखि लिएर वर्तमान मौनतासम्मका विषय उठाउँदै प्रश्न गरेका हुन् ।

‘मन मिल्दा बालकोट पुगेर ओलीसँग तबला उपहार लिने व्यक्ति आज किन प्रश्नबाट तर्किन्छन् ? जुन पार्टीको लोगो छातीमा टाँस्नुपर्छ, त्यसप्रति किन एलर्जी ? श्रद्धाले लगाइदिएको माला किन बाटोमै फालिएको ? आफ्नै पार्टीका पुराना कार्यकर्तासँग किन दूरी ? छुट्टै सम्पर्क कार्यालय किन ? चुनाव प्रचारका क्रममा सँगै हिँडेका पत्रकार दिनेश सिटौलाको अकस्मात मृत्यु प्रकरणमा किन अस्पष्टता ? करोडौं मूल्यका गाडी, भन्सार छली, उपहार, मुद्दा चलेका व्यापारीसँग सम्बन्धजस्ता आरोपमा किन स्पष्ट जवाफ छैन ?’ लगायतका प्रश्न श्रेष्ठले राखेका हुन् ।

वरिष्ठ पत्रकार श्रेष्ठका अनुसार लोकतन्त्रमा उठेका प्रश्नको सामना गर्नु उम्मेदवारको कर्तव्य हो । यही सन्दर्भमा झापा–५ को सार्वजनिक बहस बहिष्कारलाई धेरैले गम्भीर रूपमा लिएका छन् । रास्वपाले बालेनलाई सम्भावित भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको सन्दर्भमा उनको बहस बहिष्कारलाई अझ बढी अर्थपूर्ण रूपमा हेरिएको विश्लेषकहरु बताउँछन् ।

भावी प्रधानमन्त्रीको दाबेदार भनिएको व्यक्ति जनतासामु प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा अनुपस्थित हुनु आफैंमा राजनीतिक सन्देश बन्न पुगेको छ । राजनीतिक विश्लेषक गिरिश भट्टराईले भने, ‘नेतृत्व दाबी गर्ने व्यक्ति आलोचना, प्रश्न र असहज परिस्थितिबाट भाग्न खोज्छ भने त्यसले दीर्घकालीन विश्वासमा असर पार्छ ।’

सार्वजनिक बहसपछि ओलीले भने सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उम्मेदवारहरू एकै ठाउँमा बसेर नागरिकका प्रश्नको जवाफ दिनु नै लोकतन्त्रको सार भएको बताएका छन् । उनले ‘प्रश्न सोधौँ, एमाले रोजौँ’ भन्ने सन्देशसहित चुनाव अवधिभर सुटिङ गरेर तयार पारिएका सामग्रीमार्फत मतदातालाई प्रभावित गर्ने परिपाटी अन्त्य हुनुपर्ने उल्लेख गरेका छन् ।

चुनाव नागरिकले आफ्नो प्रतिनिधिलाई विश्वास सुम्पिने पर्व भएकाले उम्मेदवार नागरिकभन्दा टाढा बस्न नहुने ओलीको धारणा छ । ओलीले आफू आलोचनाबाट नभाग्ने र उठेका प्रश्नको उत्तर दिँदै आएको दाबी गरेका छन् । ‘कतिपय प्रश्नमा आत्मालोचना गरेर सुधार पनि गरेका छौं,’ उनले लेखेका छन् । खुला बहसबाटै जनविश्वास जित्न सकिने विश्वास व्यक्त गर्दै उनले आयोजक, सहभागी उम्मेदवार र सक्रिय नागरिकलाई धन्यवाद दिएका छन् ।

राजनीतिक विश्लेषक गिरिश भट्टराईका अनुसार लोकतन्त्रको आधारस्तम्भ नै प्रश्न हो । उनले भने, ‘प्रश्नबाट भाग्नु भनेको जनचासोबाट भाग्नु हो ।’ उनले भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरिएका व्यक्तिले प्रश्नको सामना गर्न नसक्नु दुर्भाग्यपूर्ण संकेत भएको बताए । ‘आज एउटा–दुईवटा प्रश्नको सामना गर्न नसक्ने नेता भोलि राज्य सञ्चालनका जटिल प्रश्न कसरी समाधान गर्छन् भन्ने स्वाभाविक प्रश्न उठ्छ,’ भट्टराईले भने ।

झापा–५ ऐतिहासिक रूपमा उच्च राजनीतिक प्रतिस्पर्धा भएको क्षेत्र हो । यसपटक ओली र बालेनसहितको प्रतिस्पर्धाले थप रोचक बनाएको छ । यस्तो अवस्थामा सार्वजनिक बहसले मतदातालाई उम्मेदवारको दृष्टिकोण, नीति र कार्यशैली प्रत्यक्ष बुझ्ने अवसर दिने राजनीतिक विश्लेषक भट्टराईको भनाइ छ ।

चुनावी अभियान प्रायः सभासमारोह, घरदैलो र सामाजिक सञ्जाल केन्द्रित हुने गरेका छन् । प्रत्यक्ष बहसको अभ्यास अझै संस्थागत हुन सकेको छैन । झापा–५ मा भएको बहसलाई धेरैले स्वस्थ राजनीतिक संस्कृतिको संकेतका रूपमा लिएका छन् । तर, त्यही बहसमा प्रमुख प्रतिस्पर्धीको अनुपस्थितिले अर्को विमर्श जन्माएको छ । के नेपाली राजनीति अझै पनि प्रत्यक्ष जवाफदेहिताबाट डराइरहेको हो ? भन्ने प्रश्न उठाएको छ ।

बालेन पक्षबाट भने औपचारिक रूपमा यसको विस्तृत स्पष्टीकरण आएको छैन । उनका समर्थकहरू सामाजिक सञ्जालमा बहसको स्वरूप, आयोजकको निष्पक्षता र समय व्यवस्थापनलाई कारण देखाउँदै बचाउ गरिरहेका छन् । तर, आलोचकहरूले भने, ‘बहसप्रति असहमति थियो भने पनि मञ्चमै गएर आफ्नो असहमति राख्न सकिन्थ्यो । खाली कुर्सीले भिन्दै मौन सन्देश दिन्छ । त्यसले धेरै ठूलो नकारात्मक सन्देश बोक्यो ।’

झापामा प्रारम्भिक चरणमा बालेनप्रति देखिएको उत्साह पछिल्लो घटनाक्रमपछि केही घटेको स्थानीय विश्लेषकहरू बताउँछन् । प्रश्नबाट भागेको छवि बन्न थालेपछि मतदातामा संशय बढेको उनीहरूको भनाइ छ । चुनाव नाराले मात्रै नभएर विश्वास, स्पष्टता र पारदर्शिताले जितिन्छ भन्ने धारणा बलियो बन्नुपर्ने आवश्यकता रहेको विश्लेषक भट्टराईले बताए ।

‘लोकतन्त्रमा प्रश्न असहज हुन सक्छन् । आरोपहरू चर्का हुन सक्छन् । तर, प्रश्नको उत्तर दिनु नै उत्तरदायित्वको पहिलो पाइला हो,’ उनले भने । झापा–५ को खाली कुर्सी अब एउटा कुर्सीको कथा नभएर नेतृत्व, जवाफदेहिता र राजनीतिक संस्कृतिको परीक्षण बनेको उनको भनाइ छ ।

भट्टराईका अनुसार चुनावका बेला मतदाताले खोजेको उत्तर दिन नसक्नु पनि गैरराजनीतिक हर्कत हो । प्रश्नबाट भाग्ने राजनीति कति दिन टिक्छ भन्ने प्रश्न उठेको उनले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.