
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ७६औँ प्रजातन्त्र दिवसको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना दिँदै राष्ट्र निर्माणका लागि एकजुट हुन आह्वान गरेकी छन् ।
सामाजिक सञ्जालमा शुभकामना व्यक्त गर्दै उनले २००७ सालको क्रान्तिले नागरिक अधिकार ल्याए पनि २०१५ साल फागुन ७ गतेकै दिन पहिलो संसदीय निर्वाचन भएको स्मरण गराइन् । उनले यो दिनलाई निर्वाचन दिवसको रुपमा पनि मनाउन सुझाव दिँदै राष्ट्र निर्माणमा एकजुट हुन अपिल गरेकी हुन् ।
प्रधानमन्त्री कार्कीले लेखेकी छन्, ‘लोकतन्त्रलाई जीवनशैली बनाउने क्रममा नेतृत्वले चुक्यो । पटकपटक आन्दोलन गर्नुपर्यो । अब भ्रष्टाचार, नातावाद र विभेदविरुद्धको संकल्पलाई संस्थागत सुधारमार्फत सम्बोधन गरौँ ।’
उनले स्वच्छ, निष्पक्ष र भयमुक्त निर्वाचनमार्फत लोकतान्त्रिक स्थायित्व र समृद्ध नेपाल निर्माणमा सबैलाई एकजुट हुन आग्रह गरेकी छन् । साथै, प्रजातन्त्र र सुशासनका लागि जीवन अर्पण गरेका सबै सहिदप्रति श्रद्धाञ्जली व्यक्त गरिन् ।

























