विराटनगरलाई डुबानमुक्त बनाउँछु : कोइराला

Share this
694shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन ७, बिहीबार १४:४४

विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं मोरङ क्षेत्र नम्बर ६ का उम्मेदवार डा. शेखर कोइरालाले महेन्द्र मोरङ क्याम्पसको शैक्षिक पूर्वाधार विकासमा आफ्नो महत्वपूर्ण योगदान रहेको बताएका छन्। विराटनगर–१२ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले क्याम्पसभित्रको छुट्टै विज्ञान भवन आफ्नै पहलमा आएको ५ करोड रुपैयाँको बजेटबाट निर्माण भएको बताए।

आफू पनि सोही क्याम्पसको विद्यार्थी रहेको स्मरण गर्दै कोइरालाले समयअनुसार शैक्षिक गुणस्तर र पूर्वाधारमा विकास हुनुपर्नेमा जोड दिए। ‘मैले पढेको बेला जस्तो अहिले छैन, तर अझै धेरै काम गर्न बाँकी छ,’ उनले भने, ‘प्रयोगशाला र स्रोत-साधनको विस्तार गरी यसलाई नमुना शैक्षिक संस्था बनाउने मेरो लक्ष्य छ।’

त्यस्तै, कोइरालाले विराटनगर–१२ का बासिन्दाको मुख्य समस्याका रूपमा रहेको डुबान समस्या समाधान गर्ने प्रतिबद्धता समेत दोहोर्‍याए। वर्षायाममा केसलिया खोलाका कारण हुने जनधनको क्षति रोक्न सुदृढ तटबन्धन निर्माणलाई आफूले उच्च प्राथमिकतामा राखेको उनले स्पष्ट पारे। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि घरदैलोमा रहेका कोइरालाले विकासका अधुरा काम पूरा गर्न कांग्रेसको जित आवश्यक रहेको बताए।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.