कांग्रेसद्वारा १५ बुँदे ‘प्रतिज्ञापत्र’ सार्वजनिक: निःशुल्क स्वास्थ्य र डिजिटल अर्थतन्त्रमा जोड

Share this
654shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन ७, बिहीबार १७:४३

काठमाडौं। नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो चुनावी ‘प्रतिज्ञापत्र’ सार्वजनिक गरेको छ। बिहीबार काठमाडौँमा आयोजित एक विशेष कार्यक्रममा सभापति गगन थापाले पार्टीका मुख्य १५ वटा विषय समेटिएको प्रतिज्ञापत्र सार्वजनिक गरेका हुन्।

कांग्रेसले आफ्नो घोषणापत्रमा पारदर्शी, उत्तरदायी र लोकतान्त्रिक सरकारको माध्यमबाट राष्ट्रिय समृद्धि हासिल गर्ने मुख्य लक्ष्य राखेको छ। विशेषगरी नागरिकको स्वास्थ्यमा सहज पहुँच पुर्‍याउन ‘निःशुल्क स्वास्थ्य सेवा’ को विस्तार र सामाजिक सुरक्षाको दायरा फराकिलो बनाउने विषयलाई कांग्रेसले प्राथमिकतामा राखेको छ। युवाहरूका लागि रोजगारी, उद्यमशीलता र नयाँ सोचको विकास गर्दै उनीहरूलाई राष्ट्रिय विकासमा सक्रिय गराउने योजना प्रतिज्ञापत्रमा उल्लेख छ।

आर्थिक विकासका लागि कृषि, पर्यटन, औद्योगिक विकास र ऊर्जा क्षेत्रलाई मुख्य आधार मानिएको छ। कांग्रेसले नेपाललाई डिजिटल रूपमा सुसम्पन्न बनाउन डिजिटल पूर्वाधारको विस्तार र डिजिटल अर्थतन्त्रलाई सुदृढ गर्ने प्रतिज्ञा गरेको छ। त्यस्तै, गरिबी निवारण, गुणस्तरीय शिक्षा, र समावेशी विकासका माध्यमबाट सबै वर्ग र समुदायको समानुपातिक सहभागिता सुनिश्चित गर्ने नीति पार्टीले अघि सारेको छ।

कानुनी शासनको सुदृढीकरण, न्यायपालिकाको स्वतन्त्रता र किसानहरूको हित रक्षा गर्दै उनीहरूको जीविकोपार्जनमा सुधार ल्याउने विषयलाई पनि कांग्रेसले आफ्नो चुनावी एजेन्डा बनाएको छ। स्थानीय समुदायको आवश्यकता अनुसारका विकास कार्यक्रमहरू लागू गर्ने र नेपाली संस्कृति एवं सम्पदाको संरक्षण गर्ने प्रतिबद्धता सभापति थापाले व्यक्त गरेका छन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.