रास्वपाको बाचा : विद्यालयमा दलीय राजनीति पूर्ण निषेध

Share this
781shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन ७, बिहीबार १७:४९

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि आफ्नो ‘बाचा पत्र’ सार्वजनिक गर्दै शिक्षा क्षेत्रमा आमूल परिवर्तनको योजना अघि सारेको छ। रास्वपाले विद्यालय र विश्वविद्यालयहरूलाई राजनीतिक अखडा हुनबाट मुक्त गर्ने मुख्य संकल्प गरेको छ।

पार्टीले शिक्षक र प्राध्यापकहरूलाई कुनै पनि राजनीतिक दलमा आबद्ध हुन पूर्ण रूपमा निषेध गर्ने बाचा गरेको छ। ‘विश्वविद्यालय र विद्यालयहरूलाई दलीय राजनीतिक गतिविधिको अखडा हुनबाट मुक्त गर्नेछौँ। शिक्षक तथा प्राध्यापकहरूको राजनीतिक आबद्धतालाई पूर्णतः निषेध गर्नेछौँ,’ बाचा पत्रमा भनिएको छ। विद्यार्थी सङ्गठनका नाममा हुने अराजकता, तोडफोड र शैक्षिक अवरोध नियन्त्रण गर्न शैक्षिक संस्थाभित्र दलगत राजनीतिक कार्यक्रमहरूमा पूर्ण रोक लगाइने रास्वपाको योजना छ।

विद्यार्थीको नेतृत्व विकासका लागि दलीय सङ्गठनको सट्टा गैर-दलीय र प्राज्ञिक प्रतिनिधित्व प्रणाली विकास गर्ने रास्वपाले बताएको छ। शिक्षालाई सेवामुखी बनाउन निजी शैक्षिक संस्थाहरूको शुल्क र मापदण्डमा कडा नियमन गर्ने तथा सार्वजनिक शिक्षाको गुणस्तर सुधारका लागि आगामी दुई दशकसम्म लगानी बढाउने प्रतिबद्धता पार्टीले जनाएको छ।

हरेक प्रदेशमा कम्तीमा एक अत्याधुनिक नमुना समावेशी विद्यालय स्थापना गर्ने र अटिजम एवं अपाङ्गता भएका बालबालिकाका लागि विद्यालयभित्रै ‘होलिस्टिक सेवा’ (थेरापी) उपलब्ध गराउने रास्वपाको अर्को महत्त्वपूर्ण एजेन्डा छ। शिक्षक नियुक्ति, पदोन्नति र मूल्याङ्कन प्रक्रियालाई पारदर्शी र ‘मेरिट’ (योग्यता) मा आधारित बनाइनेछ। त्यस्तै, नेपाललाई अन्तर्राष्ट्रिय उच्च शिक्षाको हब बनाउन विदेशी डिग्री कार्यक्रम र विदेशी विद्यार्थीका लागि भिसा प्रक्रिया सरल बनाउने बाचा समेत रास्वपाले गरेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.