
विराटनगर । मोरङको निर्वाचन क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसमाथि निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोप लागेको छ ।
कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालाले आचारसंहिता उल्लंघन गरेको भन्दै स्वतन्त्र उम्मेदवार उत्तम दाहालले मुख्य निर्वाचन अधिकृतको कार्यलयमा उजुरी दिएका छन् । उनले आचारसंहित उल्लंघन गर्ने उम्मेदवारमाथि कानुनी कारबाहीको माग गरेका छन् ।
दाहालले दिएको उजुरीमा विराटनगर महानगरपालिका–५ स्थित पन्जाबी पेट्रोल पम्पबाट करिब ३ सय मिटर पश्चिमतर्फ रहेको सम्झना चोक नजिकैको सार्वजनिक सडक किनारको विद्युत ट्रान्सफर्मरको पोलमा कांग्रेसका उम्मेदवार डा. कोइरालाको प्रचार सामग्री झुण्ड्याइएको उल्लेख छ । उक्त कार्यले प्रचलित कानुनको ठाडो उल्लंघन गरेको दाहालको दाबी छ ।
उनले विशेष गरी तीन कानुनी व्यवस्थाको उल्लंघन भएको बताएका छन् । पहिलो, निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ (क)ले सार्वजनिक भवन, विद्युत पोल वा कुनै पनि सार्वजनिक संरचनामा प्रचार सामग्री राख्न पूर्णरूपमा निषेध गरेको छ । दोस्रो, निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा १३ अनुसार सार्वजनिक सम्पत्तिको दुरुपयोगलाई पनि कसुर मानिन्छ । तेस्रो, विद्युत नियमावली, २०५० अनुसार उच्च भोल्टेज ट्रान्सफर्मर र पोलमा अनधिकृत वस्तु राख्दा प्राविधिक जोखिम र सार्वजनिक सुरक्षामा गम्भीर असर पुग्ने खतरा रहेको छ ।
दाहालले भनेका छन्, ‘पहुँचमा रहेका उम्मेदवारबाट भएको यस्तो गैरकानुनी कार्यले स्वतन्त्र उम्मेदवारहरूका लागि प्रतिस्पर्धा असमान र अन्यायपूर्ण बनाएको छ । यो अवस्था आगामी निर्वाचनको निष्पक्षता र विश्वासयोग्य वातावरणका लागि चुनौतीपूर्ण छ ।’ उनले उजुरीमा फोटो र भिडियो प्रमाण पनि संलग्न गरेका छन् ।
दाहालले निर्वाचन आयोगसँग तत्काल झण्डा हटाएर दोषीमाथि कानुन बमोजिम कारबाही हुनुपर्ने माग गरेका छन् । उनका अनुसार आचारसंहिता उल्लंघनले लोकतान्त्रिक प्रतिस्पर्धामा विश्वासलाई पनि कमजोर बनाउने खतरा हुन्छ ।
‘स्वतन्त्र उम्मेदवारहरूका लागि यस्तो अवस्था असमानता र अन्यायको प्रतिक बनेको छ । जसले स्थानीय मतदाता र आम जनतामा समेत विवाद एवं असन्तुष्टि बढाउन सक्छ,’ दाहाल भन्छन् । यस्ता घटनाले मोरङ–६ को निर्वाचनको निष्पक्षता र पारदर्शितामा प्रश्न उठाउने उनले बताए ।
























