
विराटनगर । ७६ औँ प्रजातन्त्र दिवसका अवसरमा विराटनगरमा प्रभातफेरी निकालिएको छ । कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट निकालिएको प्रभातफेरीले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट निकालिएको प्रभातफेरीमा विभिन्न मन्त्री, प्रदेशसभा सदस्य, सचिवहरू, विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधिका साथै विद्यार्थी र सुरक्षाकर्मीहरूको सहभागिता थियो ।

मुख्यमन्त्री हिक्मतकुमार कार्की प्रभातफेरीमा सहभागी नभई प्रभातफेरीपछि महेन्द्र चोकमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका थिए ।

सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले पछिल्लो समयमा नेपालको लोकतन्त्र संकटमा परेको बताए । उनले नेपालको संविधान निर्माण र प्रजातान्त्रिक आन्दोलनमा सहभागी हुने राष्ट्रिय शक्तिहरूबिचको एकता आवश्यक रहेको प्रस्ट्याए ।

संविधानमाथि विभिन्न तरहले प्रहार गरेको वर्तमान अवस्था लोकतान्त्रिक शक्तिहरू एकजुट भएर संविधानको रक्षा गर्दे देशमाथि आइपरेको समस्या समाधान गर्न एक हुनुपर्ने मुख्यमन्त्री कार्कीले बताए ।



























