विराटनगर रूपान्तरण गर्ने डा. शेखरको प्रतिवद्धता

Share this
684shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन ८, शुक्रबार ११:२३

विराटनगर । नेपाली कांग्रेसका नेता एवं मोरङ क्षेत्र नं. ६ का प्रतिनिधि सभा उम्मेदवार डा. शेखर कोइरालाले विराटनगरको मुख्य बजार क्षेत्र र गुद्रीको विकास गरी सहरलाई सौन्दर्यकरण गर्ने योजना अघि सारेका छन्। नेपाल तरुण दल मोरङ क्षेत्र नं. ६ ले आयोजना गरेको तरुण युवा बुथ सुरक्षा घोषणा सभालाई सम्बोधन गर्दै कोइरालाले विराटनगरको मुटु मानिने गुद्री क्षेत्रको विकासको जिम्मा आफूले लिने बताए।

कोइरालाले विकासको पहिलो प्राथमिकता गुद्री क्षेत्रलाई दिने स्पष्ट पार्दै भने, ‘वडा नं. ९ राम्रो देखिन थाल्यो भने यसको सन्देश देशभर फैलिनेछ। यसले विराटनगरको पहिचान र पर्यटन मात्र बढाउँदैन, स्थानीय व्यवसायलाई समेत मजबुत बनाउनेछ।’ उनले विराटनगरलाई सुन्दर, व्यवस्थित र घुम्न योग्य बनाउने आफ्नो मुख्य एजेन्डा रहेको उल्लेख गरे।

कार्यक्रममा उनले मोरङ–६ का सबै युवाहरूलाई मतदाताको घरदैलोमा पुगेर कांग्रेसको पक्षमा माहोल बनाउन निर्देशन दिए। कोइरालाले विदेशमा बस्नेहरूले फैलाउने भ्रममा नपर्न आग्रह गर्दै दुःख–सुखमा साथ दिने पार्टी कांग्रेसलाई नै जिताउन अपील गरे। ‘देश अहिले राष्ट्रिय संकटको अवस्थामा छ। राष्ट्र जोगाउन र विकास सुनिश्चित गर्न कांग्रेसको जित अनिवार्य छ,’ कोइरालाले भने।

मोरङ क्षेत्र नं. ६ का २० वटै वडामा युवा कमिटी परिचालित रहेको र उनीहरूले निर्वाचन परिणाम आफ्नो पक्षमा ल्याउन काम गर्ने बताइएको छ। सोही अवसरमा रोनाल कँडेलको संयोजकत्वमा ७ सदस्यीय बुथ सुरक्षा समिति समेत गठन गरिएको छ। कार्यक्रममा कांग्रेस विराटनगरका सभापति दीपक चापागाईं, युवा नेता सञ्जीव चापागाईं, खेम थापालगायतले बोलेका थिए भने कार्यक्रमको अध्यक्षता मुकेश कार्कीले गरेका थिए।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.