प्रतिनिधिसभा निर्वाचन : ८६७ उम्मेदवारले मात्रै खोले बैंक खाता

Share this
700shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन ८, शुक्रबार १७:४६

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन आयोगले दिएको निर्देशन उम्मेदवारले अवज्ञा गरेका छन् । आयोगले निर्वाचन खर्चका लागि छुट्टै बैंक खाता खोल्न निर्देशन दिएको थियो । तर, हालसम्म प्रत्यक्षतर्फ तीन हजार ४०६ जना उम्मेदवार मध्ये सात राजनीतिक दल र ८६७ उम्मेदवारले मात्रै बैंक खाता खोलेका छन् । अझै २५३९ जना उम्मेदवारले खाता खोल्न बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका उपसचिव एवं सहायक प्रवक्ता सीता पुनका अनुसार शुक्रबारसम्म सात राजनीतिक दल र ८६७ उम्मेदवारले बैंक खाता खोलेर त्यसको जानकारी निर्वाचन आयोगलाई गराएका छन् ।

निर्वाचनमा राजनीतिक दल र उम्मेदवारहरुले लिने आर्थिक सहायताको पारदर्शिता र निर्वाचन कानुनले तोकेको खर्चको सीमाको पालना तथा प्रभावकारी निगरानीका लागि प्रतिनिधि सभा बैंक खाता खोल्न भनिएको छ ।

निर्वाचन आयोग ऐन २०७३ को दफा २३ बमोजिम जारी निर्वाचन आचारसंहिताको दफा १६ मा उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा छुट्टै खाता खोल्नुपर्ने व्यवस्था छ । निवाचनसँग सम्बन्धित कारोबार गर्दा सोही खातामार्फत गर्नुपर्ने प्रावधान छ ।

खर्चको सीमाअनुसार देशभरका १७ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम २७ लाख बराबरको खर्च गर्न पाउनेछन् । ६५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम २९ लाख खर्च गर्न पाउँछन् । आयोगका अनुसार ५२ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम ३१ लाख, २६ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम ३३ लाख खर्च गर्न पाउँछन् ।

उम्मेदवारले तोकेको खर्चको हदभित्र रहेर निर्वाचन खर्च गर्न र प्रतिनिधिसभा सदस्य ऐनबमोजिम निर्वाचन खर्चको विवरण निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने हुन्छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.