
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन शाह बिरामी परेपछि पार्टीको चुनावी अभियान प्रभावित भएको छ । चुनावी अभियानका क्रममा रहेका बालेन बिरामी परेपछि उपचारका लागि काठमाडौं फर्किएका थिए । उनी फर्किएपछि शनिबार र आइतबारका लागि तोकिएको कार्यक्रम स्थगित भएको हो ।
सुदूरपश्चिमको धनगढीमा आयोजित सभा सकेर सुर्खेत पुगेका शाह बिहीबार अचानक अस्वस्थ भएका थिए । उनलाई पेट दुख्ने, कमजोरी महसुस हुने र वान्ता हुने समस्या देखिएपछि राति ३ बजे सुर्खेतस्थित कर्णाली केयर इन्टरनेशनल अस्पताल भर्ना गरिएको थियो । शुक्रबार बिहान ६ बजेसम्म अस्पतालमा उपचार गराएपछि चिकित्सकले उनलाई केही दिन आराम गर्न सुझाव दिएका थिए ।
लगातारको यात्रा र खानपानको ‘असन्तुलनले ट्राभल विकनेस’ देखिएका शाहले बिहीबार सुर्खेतमा आयोजित पार्टीको वाचापत्र सार्वजनिक कार्यक्रममा संक्षिप्त सम्बोधन गरेका थिए । शाह बिरामी परेपछि रास्वपाले शनिबार र आइतबारका लागि भैरहवा र पोखरामा तय गरेका चुनावी सभाहरू स्थगित गरेको छ । उनको स्वास्थ्यमा सुधार आएपछि चुनावी अभियानको नयाँ कार्यतालिका सार्वजनिक गर्ने तयारी छ ।
























