
काठमाडौं। भीमदत्त राजमार्ग अन्तर्गत कैलालीको अत्तरियास्थित वनदेवी सडकखण्डमा शुक्रबार साँझ २ मोटरसाइकल आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ। तीव्र गतिमा रहेका मोटरसाइकल एकआपसमा ठोक्किँदा भएको उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका उनीहरूको उपचारका लागि धनगढी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दका अनुसार मृत्यु हुनेमा सुप प्र०१० १०प ३१८७ नम्बरको मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–२ का २२ वर्षीय हरिश ओली रहेका छन्। सोही मोटरसाइकलको पछाडि सवार गोदावरी नगरपालिका–६ का २३ वर्षीय जीवन पाठक भने गम्भीर घाइते भएका छन् र उनको उपचार भइरहेको छ।
त्यस्तै, अर्को सुप प्र०१ ००९ प ७७८१ नम्बरको मोटरसाइकलका चालक गोदावरी नगरपालिका–१ का २६ वर्षीय योगेन्द्र शाह र पछाडि सवार २३ वर्षीय हरिश पार्कीको पनि मृत्यु भएको छ। मृतक ओली गोदावरीमा एउटा विवाह कार्यमा सहभागी भई धनगढीतर्फ फर्किरहेका बेला दुर्घटना भएको प्रहरीले जनाएको छ।
प्रहरी नायब उपरीक्षक चन्दले घटनास्थलको प्रकृति हेर्दा मोटरसाइकल प्रतिघन्टा १०० किलोमिटरभन्दा बढीको गतिमा रहेको देखिएको बताए। दुर्घटना यति शक्तिशाली थियो कि मोटरसाइकलका पाङ्ग्रा र अन्य पाटपुर्जाहरू उछिट्टिएका थिए। प्रहरीका अनुसार मृतक शाह यसअघि पनि दुई पटक मोटरसाइकल दुर्घटनामा परिसकेका थिए।

























