
धनुषा । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा आचारसंहिताविपरीत टाँसिएका करिब २० हजार थान प्रचार सामग्री हटाइएका छन्। जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम नगर क्षेत्रभित्र विभिन्न उम्मेदवारले जथाभावी टाँसेका पर्चा, पम्पलेट, ब्यानर र पोस्टरहरू हटाएको हो।
प्रशासनका अनुसार सार्वजनिकस्थल, विद्युत्का पोल, सरकारी भवन तथा सडक छेउछाउमा नियमविपरीत राखिएका सामग्रीहरू हटाइएको छ। निर्वाचन आचारसंहितालाई प्रभावकारी बनाउन प्रशासनले बिहीबार नै उम्मेदवार तथा राजनीतिक दलहरूलाई एक दिनको समय दिएर त्यस्ता सामग्री आफैँ हटाउन निर्देशन दिएको थियो।
तोकिएको समयभित्र पनि सामग्री नहटाइएपछि प्रशासन आफैँले शुक्रबार सक्रियता देखाएर सामग्री हटाएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जानकारी दिए। जनकपुरधामका विभिन्न स्थानमा जथाभावी टाँसिएका सामग्रीले सहरको सौन्दर्यमा समेत असर पारेकाले कारबाहीस्वरूप यस्तो कदम चालिएको उनले बताए।
प्रजिअ लुइँटेलका अनुसार मुख्य बजार क्षेत्र, चोक र सरकारी संरचनामा आचारसंहिताविपरीत सामग्री टाँस्ने क्रम बढेको थियो। उनले आगामी दिनमा फेरि यस्ता सामग्री टाँसेमा कडा कानुनी कारबाही गरिने चेतावनी दिएका छन्। उनले आफ्नो उम्मेदवारको प्रचार गर्दा मर्यादित र व्यवस्थित रूपमा आचारसंहिताको पालना गर्न सबै दललाई आग्रह गरे।
चुनावी वातावरणलाई स्वच्छ र व्यवस्थित बनाउन आचारसंहिताको कार्यान्वयनमा कुनै सम्झौता नगर्ने प्रशासनको अडान छ। नियम अटेर गर्ने उम्मेदवार र दलहरूलाई आवश्यकता अनुसार थप कारबाहीको दायरामा ल्याइने प्रजिअ लुइँटेलले स्पष्ट पारे।

























