
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दाङलाई नेकपा एमालेको झण्डा जलाएको र अध्यक्ष केपी शर्मा ओलीविरुद्ध असभ्य नाराबाजी गरेको विषयमा स्पष्टीकरण सोधेको छ। रास्वपाका कार्यकर्ताहरूले तुलसीपुरमा एमालेको झण्डा जलाउँदै अध्यक्ष ओलीविरुद्ध नाराबाजी गरेपछि आयोगले पार्टी सभापतिका नाममा पत्र पठाउँदै जवाफ मागेको हो।
आयोगका कानुन अधिकृत मोहनराज जोशीद्वारा हस्ताक्षरित पत्रमा पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोगको इमेलमा स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको छ। आयोगले तुलसीपुर घटनाको सत्यतथ्य के हो र एमालेको झण्डा जलाउने तथा अध्यक्षविरुद्ध असभ्य शब्द प्रयोग गरी नाराबाजी भएको हो कि होइन भन्नेबारे प्रस्ट पार्न भनेको छ।
निर्वाचन आचारसंहिता विपरीतका यस्ता गतिविधिले चुनावी वातावरण बिगार्ने भन्दै आयोगले रास्वपाको आधिकारिक धारणा माग गरेको हो। फागुन २१ को निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलहरूबीच बढ्दो विवाद र आचारसंहिता उल्लङ्घनका घटनाप्रति आयोगले कडा निगरानी थालेको छ।

























