
सुनसरी । सुनसरीको भोक्राहा नरसिङ गाउँपालिका–४ मा शनिबार नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताबीच चुनावी कार्यक्रमका क्रममा झडप भएको छ। सुनसरी क्षेत्र नम्बर ४ का उम्मेदवार ज्ञानेन्द्र कार्की चुनावी सभालाई सम्बोधन गर्न जाने क्रममा बाटोमा रास्वपाका युवाहरूसँग जम्काभेट भएपछि विवाद सुरु भएको थियो।
विवादले उग्र रूप लिएर झडपको स्थिति बनेपछि परिस्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेको छ। कांग्रेसको भ्रातृ संगठन तरुण दल र रास्वपाका कार्यकर्ताहरूबीच हातहालाहाल हुन थालेपछि दुवै पक्षलाई तितरवितर पार्न सुरक्षाकर्मीले बल प्रयोग गरेको सुनसरीका प्रहरी प्रमुख एसपी केशव थेवेले जानकारी दिए।
प्रहरीको हस्तक्षेपपछि अहिले सो क्षेत्रको अवस्था सामान्य बनिसकेको छ। निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलहरूबीचको प्रतिस्पर्धाले सुरक्षा चुनौती बढाएपछि स्थानीय प्रशासनले सतर्कता अपनाएको छ।

























