इतिहासले फ्याँकेकाहरूले निर्वाचनबारे भ्रम फैलाए : प्रचण्ड

Share this
689shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन ९, शनिबार १६:४१

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले इतिहासको कठघरामा उभिएर जनताद्वारा फ्याँकिएका शक्तिहरूले निर्वाचनका विषयमा अनावश्यक भ्रम फैलाइरहेको भन्दै कडा आपत्ति जनाएका छन्। शनिबार काठमाडौँमा नेकपा दोलखा–काठमाडौँ सम्पर्क निर्वाचन परिचालन कमिटीद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

विशेष गरी पूर्वराजा ज्ञानेन्द्र शाहले वर्तमान समस्या समाधान नगरी चुनावमा जान नहुने भनी दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै प्रचण्डले प्रतिगामीहरूको यस्तो चलखेलको अब कुनै अर्थ नरहेको स्पष्ट पारे। ‘निर्वाचन हुने सुनिश्चित भइसकेको अवस्थामा इतिहासले फ्याँकेका मान्छेहरूले भ्रम फैलाउँदै छन्, यस्ता प्रचारको पछाडि नलागी दृढतापूर्वक निर्वाचनको तयारीमा जुट्न म सबैमा अपिल गर्दछु,’ उनले भने।

प्रचण्डले वर्तमान राजनीतिक जटिलता चिर्न निर्वाचन नै सबैभन्दा सहज र उत्तम विकल्प भएको उल्लेख गर्दै नेकपा यसमा सुरुदेखि नै अडिग रहेको बताए। देशव्यापी रूपमा पार्टीको प्रचार अभियान उत्साहजनक रहेको दाबी गर्दै उनले अबका बाँकी दिनमा ‘युद्धस्तर’ मा खटिन सके नेकपा देशकै पहिलो पार्टी बन्ने र नयाँ राजनीतिक परिस्थिति निर्माण हुने जिकिर गरे।

नयाँ राजनीतिक शक्तिहरूतर्फ संकेत गर्दै उनले क्षणिक रूपमा देखिएको ‘हावाहुरी’ सधैँ नचल्ने र जनताले वास्तविकता बुझिसकेको टिप्पणी गरे। चुनौतीपूर्ण घडीमा राष्ट्रको रक्षा गर्ने, अतिवादविरुद्ध लड्ने र देशलाई सन्तुलित विकासको मार्गमा लैजाने संकल्पका साथ नेकपा अघि बढेको उनको भनाइ छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.