
विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मोरङमा उम्मेदवारहरूको चुनावी तयारी तीव्र भइरहँदा आर्थिक पारदर्शिताका लागि अनिवार्य गरिएको बैंक खाता खोल्ने प्रक्रियामा भने सुस्तता देखिएको छ । जिल्लाका कूल ११० उम्मेदवारमध्ये हालसम्म ५० जनाले मात्रै बैंक खाता सञ्चालनमा ल्याएका छन् ।
प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार अझै ६० जना उम्मेदवारले निर्वाचन खर्चका लागि छुट्टै बैंक खाता खोल्न बाँकी छ । खाता खोल्नका लागि हालसम्म ८५ जना उम्मेदवारले निर्वाचन कार्यालयबाट सिफारिस लिइसकेको भए पनि खाता सञ्चालन गर्नेको संख्या भने न्यून देखिएको हो ।
मोरङका प्रमुख कोष नियन्त्रक तोमनाथ उप्रेतीका अनुसार आइतबारसम्म सिफारिस लिनेको संख्या १०० पुग्ने अनुमान गरिएको छ । निर्वाचन आयोगले बैंक खाता नखोली चुनावी खर्च गर्न नपाइने कडा व्यवस्था गरेको छ । “हामीले खाता खोल्न बाँकी उम्मेदवारहरूलाई टेलिफोनमार्फत जानकारी गराइरहेका छौँ,” प्रमुख कोष नियन्त्रक उप्रेतीले भने,”आगामी सोमबारसम्म सबै उम्मेदवारलाई अनिवार्य रूपमा बैंक खाता सञ्चालनमा ल्याइसक्न निर्देशन दिएका छौँ ।”
खाता खोल्ने प्रक्रिया चलिरहँदा केही स्वतन्त्र र साना दलका उम्मेदवारहरूले भने खाता खोल्न इच्छा देखाएका छैनन् । आफूहरूले निर्वाचनमा खर्च नगर्ने दाबी गर्दै उनीहरूले खाता खोल्न नपर्ने तर्क गरिरहेको निर्वाचन कार्यालयले जनाएको छ । तर, कानुनतः निर्वाचनमा सहभागी हुने सबैले अनिवार्य खाता खोल्नुपर्ने व्यवस्था छ ।
निर्वाचन आयोग ऐन २०७३ को दफा २३ बमोजिम जारी निर्वाचन आचारसंहिताको दफा १६ मा उम्मेदवारले निर्वाचनसम्बन्धी खर्चका लागि छुट्टै बैंक खाता खोल्नुपर्ने अनिवार्य व्यवस्था छ ।
निर्वाचनका क्रममा हुने सबै आर्थिक कारोबार सोही खातामार्फत पारदर्शी रूपमा गर्नुपर्ने प्रावधान छ । निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन तथा राजनीतिक दल र उम्मेदवारले गर्ने खर्चको प्रभावकारी निगरानी गर्न यो नियम ल्याइएको हो । उम्मेदवारहरूले निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र आफ्नो चुनावी खर्चको पूर्ण विवरण सम्बन्धित निर्वाचन कार्यालयमा बुझाउनुपर्ने कानुनी बाध्यता रहेको छ ।
























