
रौतहट। रौतहटको सदरमुकाम गौरमा हिन्दु र मुस्लिम समुदायबीचको विवादलाई थप उत्तेजित बनाएको आरोपमा प्रहरीले जनमत पार्टीका जिल्ला इन्चार्ज र एक वडा अध्यक्षलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जनमतका जिल्ला इन्चार्ज शेख जम्सेद र गौर नगरपालिका–६ का वडा अध्यक्ष अवध बिहारी शाह रहेका छन्।
जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी विष्णु प्रदीप बस्यालका अनुसार जम्सेद र शाहका साथै कर्फ्यू उल्लङ्घन गर्ने अन्य २१ जनालाई पनि नियन्त्रणमा लिइएको छ। पक्राउ पर्नेमा १५ वर्षीय मोहम्मद कैफ लगायत रहेका छन्। शनिबार मध्यान्ह १ बजेदेखि गौरका विभिन्न चार किल्ला (पूर्व मडबलवा गेट, पश्चिम लालवकैया बाँध, उत्तर बम नहर र दक्षिण भन्सार कार्यालय) भित्र लगाइएको कर्फ्यू हालसम्म जारी रहेको छ।
विवादको सुरुवात जन्ती गएका हिन्दु समुदायका मानिसहरू मस्जिद नजिक पुगेपछि भएको थियो। मुस्लिम समुदायले रमजानको समयमा नमाज पढिरहेका बेला ठूलो आवाजमा डिजे बजाएर अवरोध पुर्याएको आरोप लगाएका छन्। शनिबार दुई समूहबीच भएको उग्र झडपका क्रममा गौरमा ३ वटा गाडी र २ वटा मोटरसाइकलमा आगजनी गरिएको थियो।
अहिले जिल्ला प्रशासन कार्यालयमा यो विवाद समाधानका लागि सर्वपक्षीय छलफल भइरहेको डीएसपी बस्यालले जानकारी दिए। प्रशासनले स्थितिलाई नियन्त्रणमा लिन र थप अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था कडा पारेको छ।

























