
काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राज्यको अर्बौँ रुपैयाँ खर्च भइसकेकाले अब निर्धारित समयमै निर्वाचन हुनुपर्ने बताएका छन्। निर्वाचन स्थगित गर्न अझै पनि विभिन्न शक्तिकेन्द्रबाट प्रयास भइरहेको दाबी गर्दै उनले एमाले भने कुनै अलमलमा नपरी चुनावी तयारीमा होमिएको स्पष्ट पारे।
अध्यक्ष ओलीले निर्वाचनको तयारीका लागि राज्य र उम्मेदवारहरूको ठूलो धनराशि खर्च भइसकेको तर्फ ध्यानाकर्षण गराए। ‘हामी अब चुनाव होस् भन्ने पक्षमै छौँ। चुनाव स्थगित गर्न अहिले पनि धेरै प्रयास भइरहेका छन्, तर हामी नअलमलिई विजयको तयारीमा लाग्छौँ,’ ओलीले भने। उनले विगत छ महिनासम्म आफूहरूले निर्वाचनका लागि कोसिस गर्दा कसैले चासो नदिएको तर अहिले अन्तिम समयमा आएर निर्वाचन हुँदैन भन्नु गलत भएको जिकिर गरे।
अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति लक्षित गर्दै कडा टिप्पणी समेत गरे। उनले रास्वपालाई कुनै आधार नभएको ‘जोडजामवाला पार्टी’ को संज्ञा दिँदै सानो भाँडोमा चर्को आगो बालेर उमालेको दूधजस्तै उम्लिएको बताए। ‘जित्दैनौँ भन्ने लागेपछि अहिले आएर अर्काको झण्डा जलाउने, निहुँ खोज्ने र चुनावी वातावरण बिथोल्ने काम भइरहेको छ,’ ओलीले आरोप लगाए।
उनले देशको सार्वभौमसत्ता र समृद्धिका लागि एमालेले जित्नैपर्ने दाबी गर्दै कार्यकर्ताहरूलाई उच्च मनोबलका साथ चुनावी मैदानमा खट्न निर्देशन दिए।

























