
काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता सुनिश्चित गर्न सरकारलाई फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिन सिफारिस गरेको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आज आइतबार सरकारलाई पत्र लेख्दै तीन दिन बिदाका लागि सिफारिस गरिएको जानकारी दिए।
आयोगका अनुसार मतदाताहरूलाई आफ्नो निर्वाचन क्षेत्रसम्म पुग्न र मतदानमा सहभागी हुन सहज होस् भन्ने उद्देश्यले यो प्रस्ताव गरिएको हो। बिदाको अन्तिम निर्णय भने अब बस्ने मन्त्रिपरिषद्को बैठकले गर्नेछ।
यदि सरकारले आयोगको यो सिफारिस स्वीकृत गरेमा मुलुकमा लगातार ७ दिन सार्वजनिक बिदा हुनेछ। फागुन १८ र १९ गते फागु पूर्णिमा (होली) को बिदा पहिले नै तय छ।
त्यसपछि आयोगले सिफारिस गरेको २०, २१ र २२ गतेको बिदा थपिनेछ। साथै फागुन २३ गते अन्तर्राष्ट्रिय नारी दिवसको सार्वजनिक बिदा र २४ गते शनिबार परेकाले फागुन १८ देखि २४ गतेसम्म लगातार एक साता सरकारी कार्यालय तथा सार्वजनिक निकायहरू बन्द रहनेछन्।

























