
काठमाडौं। सशस्त्र प्रहरी बल नेपालले आगामी निर्वाचनको अनुगमन र सुरक्षा समन्वयका लागि २३ जना सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूलाई सोमबारदेखि देशभर खटाउने भएको छ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी खटिन लागेका वरिष्ठ अधिकृतहरूलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आइतबार प्रधान कार्यालयबाट विशेष निर्देशन दिएका छन्। उपत्यका बाहिर रहेका एसएसपीहरूलाई भने भर्चुअल माध्यमबाट निर्देशन दिइएको थियो।
महानिरीक्षक अर्यालले निर्वाचन अघि, निर्वाचनको समय र निर्वाचन पश्चात् आउन सक्ने जस्तोसुकै सुरक्षा चुनौतीको सामना गर्न तयार रहन निर्देशन दिएका छन्। उनले उम्मेदवार, मतदान केन्द्र, मतदाता र मतपेटिकाको सुरक्षामा कुनै सम्झौता नगर्न र थप सशक्त भएर लाग्न मातहतका कमाण्डरहरूलाई सचेत गराएका छन्।
उनले फिल्डमा खटिएका सुरक्षाकर्मीहरूलाई सभ्य र नम्र व्यवहार गर्न निर्देशन दिँदै सीमा क्षेत्रको अनुगमनलाई तीव्र बनाउन भनेका छन्। निर्वाचन बिथोल्न खोज्नेहरूको पहिचान गरी कानुन अनुसार आवश्यक बल प्रयोग गर्न निर्देशन दिँदै महानिरीक्षक अर्यालले बल प्रयोगको समयमा मानवअधिकारको पूर्ण पालना गर्न र आवश्यक प्रमाणहरू सुरक्षित राख्न समेत सम्झाएका छन्।
सोमबारदेखि ७७ वटै जिल्लामा पुग्ने यी वरिष्ठ अधिकृतहरूले फिल्ड र मुख्यालयबीच समन्वयात्मक भूमिका निर्वाह गर्ने सशस्त्र प्रहरीका प्रवक्ता विष्णु प्रसाद भट्टले जानकारी दिए।

























