
काठमाडौं। साउदी अरबका लागि नेपाली राजदूत नरेशविक्रम ढकालले आफ्नो पदबाट दिएको राजीनामा सरकारले स्वीकृत गरेको छ। ‘जेनजी’ आन्दोलनपछि गठित वर्तमान सरकारले असोजको अन्तिम साता विभिन्न ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो, जसमध्ये ढकालले केही समयअघि राजीनामा बुझाएका थिए।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, ढकालको राजीनामा आइतबार स्वीकृत भएको हो। सरकारले फिर्ता बोलाएका ११ राजदूतमध्ये हालसम्म ७ जनाले राजीनामा दिइसकेका छन्। यसअघि रुसका लागि जङ्गबहादुर चौहान, मलेसियाका लागि डा. नेत्रप्रसाद तिमल्सिना, अमेरिकाका लागि लोकदर्शन रेग्मी, चीनका लागि कृष्णप्रसाद ओली, बेलायतका लागि चन्द्रकुमार घिमिरे र कतारका लागि रमेश पौडेलले पदबाट राजीनामा दिइसकेका छन्।
फिर्ता बोलाइएकामध्ये चार जना राजदूतले भने हालसम्म राजीनामा दिएका छैनन्। जर्मनीका लागि राजदूत शैल रुपाखेती, इजरायलका लागि धनप्रसाद पण्डित, स्पेनका लागि शनिल नेपाल र जापानका लागि राजदूत डा. दुर्गाबहादुर सुवेदी अझै मन्त्रालयमा हाजिर भएर समय बिताइरहेका छन्।

























