
रौतहट । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जनमत पार्टीबाट रौतहट–२ मा उम्मेदवार बनेका २८ वर्षीय सोनु कुशवाहाले आइतबार पार्टीबाट राजीनामा दिएका छन्। पार्टीभित्र व्यक्तिवाद र परिवारवाद हाबी भएको आरोप लगाउँदै उनले साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएका हुन्।
सोनुले पार्टी नेतृत्वले युवाहरूको आवाज दबाएको र जनताको समस्या सुन्ने वातावरण नभएको गुनासो गरे। ‘परिवर्तनका लागि उम्मेदवारी दिएको थिएँ, तर पार्टीभित्रै जनताको आवाज सुनिँदैन भने त्यहाँ बस्नुको कुनै अर्थ छैन,’ उनले भने। उनले पार्टी नेतृत्व आफ्नै र दाइको चुनावी क्षेत्रमा मात्र केन्द्रित भएको र आफूसँग कुनै समन्वय नगरेको आरोप समेत लगाएका छन्।
सोनुसँगै सो क्षेत्रका अन्य स्थानीय नेताहरूले पनि सामूहिक राजीनामा दिएका छन्। उनीहरूले पार्टी नेतृत्वले एकलौटी निर्णय गर्ने गरेको, स्थानीय जनभावनाको उपेक्षा गरेको र विकासका मुद्दामा स्पष्ट योजना नदेखाएको बताएका छन्।
प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका सोनुले राजीनामा दिए पनि अब निर्वाचनमा कसलाई समर्थन गर्ने भन्नेबारे केही खुलाएका छैनन्। रौतहट–२ मा यसपटक प्रतिनिधिसभा सदस्यका लागि सोनुसहित २६ जना चुनावी मैदानमा छन्। उम्मेदवारले नै निर्वाचनको मुखमा पार्टी त्यागेपछि सो क्षेत्रमा जनमत पार्टीको चुनावी समीकरण प्रभावित हुने देखिएको छ।
























