त्रिशूलीमा बस खस्दा कम्तीमा १७ जनाको मृत्यु, २४ जना घाइते

Share this
773shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन ११, सोमबार ०६:१९

धादिङ। पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको यात्रुवाहक बस पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट–रोराङ गाउँपालिका क्षेत्रमा दुर्घटना हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ । मध्यरातिको दुर्घटनामा २४ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार ग १ ख १४२१ नम्बरको उक्त बस धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ भैंसेगौडा चरौंदी नजिकै सडकबाट करिब तीन सय मिटर तल त्रिशूली नदीको किनारमा पुगेको थियो । दुर्घटना राति करिब साढे १ बजे भएको जनाइएको छ । बस अनियन्त्रित भई सडकबाट तल झरेको प्रारम्भिक अनुमान गरिएको भए पनि दुर्घटनाको कारण भने अझै खुल्न सकेको छैन ।

घटनास्थलमा रहेका सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद न्यौपानेका अनुसार दुर्घटनाको बेला बसमा करिब ४६ जना यात्रु सवार रहेको अनुमान छ । यात्रुहरूको यकिन विवरण संकलन भइरहेको छ । रातिको समय, नदी किनारको अँध्यारो र जोखिमपूर्ण भू–भागका कारण उद्धारमा कठिनाइ भएको थियो ।

दुर्घटनापछि स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोलीले तत्कालै घटनास्थलमा पुगेर उद्धार सुरु गरेको थियो । सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको टोली उद्धारमा खटिएको छ ।

साथै, आदमघाटस्थित विपद् व्यवस्थापन बेसबाट डीएसपी सुनील गिरी नेतृत्वको टोली पनि खटिएको छ । सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता डीआईजी विष्णुप्रसाद भट्टले घाइतेहरूको उद्धार गरी विभिन्न अस्पताल पठाइएको जानकारी दिए ।

बस नदी किनारमा अड्किएको अवस्थामा रहेकाले सुरक्षाकर्मीहरूले डुंगाको सहायताबाट यात्रुहरूलाई एक–एक गरी बाहिर निकालेका थिए । नदी किनारको बगरमा घाइते र उद्धार गरिएका यात्रुहरूलाई एम्बुलेन्समार्फत धादिङ र काठमाडौंका विभिन्न अस्पतालतर्फ पठाइएको थियो ।

हालसम्म १७ जनाको शव घटनास्थलबाट निकालिएको पुष्टि सुरक्षा निकायले गरेका छन् । मृतकहरूको पहिचान खुल्न सकेको छैन । बसमा सवार सबै यात्रुको विवरण स्पष्ट नभएकाले मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको छ ।

शवहरू घटनास्थलमै राखिएको र पहिचान तथा कानुनी प्रक्रिया पूरा गर्ने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । दुर्घटनास्थल पृथ्वी राजमार्गअन्तर्गत पर्ने भीरालो खण्ड हो । सो क्षेत्रमा यसअघि पनि सवारी दुर्घटना हुने गरेका थिए ।

मध्यरातिको समय, सम्भावित तीव्र गति, सडकको अवस्था वा चालकको थकानमध्ये कुन कारण प्रमुख हो भन्ने विषयमा प्रहरी अनुसन्धान जारी छ । प्राविधिक टोलीले बसको अवस्था, ब्रेक प्रणाली र सडक संरचनाको समेत परीक्षण गर्ने तयारी गरेको छ ।

घटनाको खबर पाउनसाथ प्रमुख जिल्ला अधिकारीसहितको टोली घटनास्थल पुगेको थियो । स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मीबीच समन्वय गरी उद्धार तथा व्यवस्थापन कार्य अगाडि बढाइएको थियो । बिहान उज्यालो भएसँगै उद्धार कार्यलाई तीव्रता दिइएको छ ।

धादिङ खण्डको पृथ्वी राजमार्ग देशकै व्यस्त मार्गमध्ये एक मानिन्छ । गण्डकी प्रदेशको पर्यटकीय सहर पोखराबाट राजधानी काठमाडौं जोड्ने मुख्य मार्ग भएकाले दैनिक सयौं सवारी साधन आवतजावत गर्छन् । यात्रु चाप बढी हुने समयमा सवारीको तीव्र गति र जोखिमपूर्ण मोडका कारण दुर्घटना हुने गरेको प्रहरीको भनाइ छ ।

हाल दुर्घटनाको विस्तृत विवरण संकलनको काम भइरहेको छ । मृतक र घाइतेहरूको पहिचान खुल्नेबित्तिकै आधिकारिक विवरण सार्वजनिक गरिने प्रहरीले जनाएको छ । यसैबीच, मृतकप्रति श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त गर्दै विभिन्न पक्षबाट दुःख व्यक्त गरिएको छ ।

तपाइको प्रतिक्रिया
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.