
काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएसँगै देशका विभिन्न क्षेत्रमा मौसममा परिवर्तन आएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (सोमबार) बिहान तराईका अधिकांश भू–भागमा तुवाँलो लागेको छ भने कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बदलीको अवस्था छ । बागमती र लुम्बिनी प्रदेशका उच्च भू–भागमा पनि आंशिक बदली देखिएको छ ।
पहाडी र हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा तथा हिमपात भइरहेको विभागले जनाएको छ । वर्षा र हिमपातसँगै पहाडी एवं हिमाली क्षेत्रमा चिसो बढेको महसुस गरिएको छ ।
तराईका जिल्लामा हुस्सु लाग्ने सम्भावना रहेकाले जनजीवन र यातायात प्रभावित हुन सक्ने अनुमान गरिएको छ । विशेषगरी कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना कायमै रहेकाले यात्रा गर्नेहरूलाई आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । दिउँसोतिर भने अधिकांश तराई क्षेत्रमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान छ ।

























