
वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रमा सुरक्षा अवस्था गम्भीर बनेपछि स्थानीय प्रशासनले आज सोमबार बिहानदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय पर्साले सुरक्षा वस्तुस्थितिलाई मध्यनजर गर्दै बिहान ९:४५ बजेदेखि लागू हुने गरी महानगरका मुख्य क्षेत्रहरूमा निषेधाज्ञा लगाएको हो।
प्रमुख जिल्ला अधिकारी भोला दाहालले जारी गरेको आदेशमा अर्को सूचना नभएसम्मका लागि सर्वसाधारणको आवतजावत र भेला हुन पूर्ण प्रतिबन्ध लगाइएको छ। प्रशासनले पूर्वतर्फ बाइपास रोड, पश्चिमतर्फ सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा नेपाल–भारत सीमा नजिकैको शङ्कराचार्य गेटभित्रको सम्पूर्ण भूभागलाई कर्फ्यु क्षेत्र तोकेको छ। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम यो सिमाना भित्र जुलुस निकाल्न, सभा–सम्मेलन गर्न, बैठक बस्न वा घेराउ जस्ता गतिविधि गर्न पाइने छैन।
कठोर निर्णयका बिच मानवीय संवेदनशीलता र अत्यावश्यक सेवालाई भने प्रशासनले केही खुकुलो बनाएको छ। एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मीका सवारी साधन, सञ्चारकर्मी र कूटनीतिक नियोगका गाडीहरू निर्वाध चल्न पाउनेछन्। त्यस्तै विश्वविद्यालयका पूर्व निर्धारित परीक्षामा सामेल हुने परीक्षार्थी, कर्मचारी, पर्यटक र हवाई टिकट भएका यात्रुहरूको आवागमनमा पनि सुरक्षाकर्मीले सहजीकरण गर्ने बताएका छन्।
वीरगञ्जमा सुरक्षा चुनौती थपेको र सामाजिक सद्भावमा आँच आउन सक्ने सम्भावना देखिएपछि प्रशासनले यो कदम चाल्नुपरेको जानकारी दिएको छ। अहिले वीरगञ्जका मुख्य चोक र गल्लीहरूमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। आदेश उल्लंघन गर्नेलाई कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी समेत दिइएको छ।

























