
झापा । झापाको निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता एवं काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन्द्र साह (बालेन)ले आफ्नो विस्तृत चुनावी घोषणापत्र (वाचापत्र) सार्वजनिक गरेका छन् ।
आगामी फागुन २१ गतेको निर्वाचनलाई लक्षित गर्दै सार्वजनिक गरिएको वाचापत्रमा उनले आफूलाई प्रधानमन्त्रीका दाबेदारका रूपमा प्रस्तुत गरेका छन् । संसदमा प्रभावकारी उपस्थिति, कानुन निर्माणमा सक्रियता, भ्रष्टाचारविरुद्ध कडा र स्पष्ट अडान, शिक्षा र स्वास्थ्य क्षेत्रमा संरचनात्मक सुधार तथा स्थानीय तहसँग प्रत्यक्ष समन्वय गर्ने प्रणाली स्थापना गर्ने प्रतिबद्धता उनको छ ।
घोषणापत्रमा नेपालको संविधान, २०७२ ले प्रत्याभूत गरेका मौलिक हकहरूको व्यवहारिक कार्यान्वयनलाई पहिलो प्राथमिकतामा राखिएको छ । संविधानले नागरिकलाई दिएको गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता आधारभूत अधिकारहरू कागजमा मात्र सीमित नराखी कार्यान्वयनको तहसम्म पुर्याउन संघीय संसद्मा सक्रिय भूमिका खेल्ने उनले स्पष्ट पारेका छन् ।
‘नागरिकमैत्री कानुन निर्माण, संशोधन तथा परिमार्जनमार्फत जनताको दैनिक जीवनमा प्रत्यक्ष प्रभाव पार्ने विधेयक अघि बढाइनेछ,’ घोषणापत्रमा उल्लेख छ । राष्ट्रहितविरुद्ध कुनै पनि सम्झौता नगर्ने र सार्वजनिक सेवाप्रवाहलाई चुस्त, पारदर्शी र उत्तरदायी बनाउने प्रतिबद्धता पनि समेटिएको छ ।
शिक्षा क्षेत्रलाई दीर्घकालीन सामाजिक रूपान्तरणको प्रमुख आधार मानेका साहले काठमाडौं महानगरपालिकामा कार्यान्वयनमा ल्याइएको ‘शिक्षामा सिप’ कार्यक्रमलाई झापा–५ मा विस्तार गर्ने घोषणा गरेका छन् । विद्यालय तहदेखि नै विद्यार्थीलाई सिपमुखी बनाउँदै आत्मनिर्भरता र उद्यमशीलतामा जोड दिने यो कार्यक्रमले वैदेशिक रोजगारीप्रतिको अत्यधिक निर्भरता घटाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।
सामुदायिक विद्यालयहरूमा स्मार्ट कक्षा, आधुनिक प्रयोगशाला र व्यवस्थित पुस्तकालय स्थापना गर्ने, शिक्षक तालिमलाई प्रभावकारी बनाउने तथा विद्यालय छाड्ने दरलाई शून्यमा झार्ने लक्ष्यसहित ‘स्कुल रिटेन्सन प्रोग्राम’ सञ्चालन गर्ने योजना पनि घोषणापत्रमा समेटिएको छ । उनले गुणस्तरीय सार्वजनिक शिक्षालाई निजी शिक्षाको विकल्पका रूपमा स्थापित गर्ने दीर्घकालीन दृष्टि प्रस्तुत गरेका छन् ।
स्वास्थ्य क्षेत्रमा आधारभूत सेवा सुलभ र पहुँचयोग्य बनाउने योजना पनि घोषणापत्रको अर्को महत्वपूर्ण अंश हो । स्थानीय स्वास्थ्य संस्थाहरूको स्तरोन्नति, आवश्यक जनशक्ति व्यवस्थापन र औषधि आपूर्ति प्रणालीलाई पारदर्शी तथा नियमित बनाउने प्रतिबद्धता उनले जनाएका छन् । ग्रामीण तथा दुर्गम बस्तीमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्न संघीय बजेटमार्फत विशेष कार्यक्रम ल्याउने उल्लेख गरिएको छ ।
भौतिक पूर्वाधार र ऐतिहासिक सम्पदाको संरक्षणतर्फ पनि उनले विशेष जोड दिएका छन् । झापा–५ भित्र रहेका धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक स्थलहरूको पहिचान, संरक्षण र प्रवर्धनका लागि संघीय स्तरबाट योजना र बजेट सुनिश्चित गरिने उल्लेख छ । सडक, पुल, सिँचाइ, खानेपानी तथा विद्युत् विस्तारलाई समन्वित रूपमा अघि बढाउँदै क्षेत्रीय विकासलाई गति दिने लक्ष्य राखिएको छ ।
घोषणापत्रको एक महत्त्वपूर्ण विशेषता झापा–५ मा व्यवस्थित ‘संसद सचिवालय’ स्थापना गर्ने प्रतिबद्धता हो । यो सचिवालयले सांसद र नागरिकबीचको दूरी घटाउने माध्यमका रूपमा काम गर्ने बताइएको छ । स्थानीय बासिन्दाले भोगिरहेका समस्या, गुनासा र सुझावहरू प्रत्यक्ष रूपमा संकलन गरी संसदमा उठाउने संरचना विकास गरिने उनले बताएका छन् ।
भ्रष्टाचार र बेथितिविरुद्ध कठोर र स्पष्ट अडान लिने उनले घोषणापत्रमार्फत पुनः दोहोर्याएका छन् । संसदको अग्रपंक्तिमा उभिएर अनियमितता र अपारदर्शिताविरुद्ध आवाज उठाउने, आवश्यक परे अनुसन्धान र छानबिनका लागि दबाब सिर्जना गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् । सार्वजनिक खरिद प्रणाली, बजेट विनियोजन र कार्यान्वयन प्रक्रियामा पारदर्शिता सुनिश्चित गर्न कानुनी सुधार आवश्यक रहेको उनको भनाइ छ ।
रास्वपाको नीतिगत दिशासँग मेल खाने गरी तयार पारिएको घोषणापत्रमा युवा नेतृत्व, प्रविधिमैत्री शासन प्रणाली र उत्तरदायी राजनीति केन्द्रमा राखिएको छ । संघीय संसदमा प्रभावकारी उपस्थिति जनाउँदै नीति निर्माणमा वैज्ञानिक र तथ्यमा आधारित दृष्टिकोण अपनाइने उल्लेख छ ।
झापा–५ का मतदातालाई लक्षित गर्दै उनले आफ्नो उम्मेदवारीलाई ‘परिवर्तनको प्रत्यक्ष अभ्यास’का रूपमा व्याख्या गरेका छन् । काठमाडौं महानगरपालिकामा लागू गरिएका सुधारका कार्यक्रमहरूलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै उनले संघीय तहमा पनि त्यस्तै कार्यशैली अपनाउने संकेत दिएका छन् ।
























