
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा निर्वाचन आयोगले आचारसंहिता पालनामा कडाइ गरेको छ। आयोगका अनुसार हालसम्म ८५ वटा उजुरी प्राप्त भएका छन् भने सोही आधारमा विभिन्न राजनीतिक दल तथा उम्मेदवारहरूलाई स्पष्टीकरण सोधिएको छ।
आयोगका कानुन अधिकृत मोहनराज जोशीले हालसम्म ७९ जनालाई स्पष्टीकरण र ६ जनालाई पुनः स्पष्टीकरण सोधिएको जानकारी दिए। स्पष्टीकरण सोधिएकामध्ये ५४ वटाको जवाफ प्राप्त भइसकेको र ती जवाफमाथि अहिले अध्ययन भइरहेको आयोगले जनाएको छ। आयोगले उजुरीका आधारमा उम्मेदवार मात्र नभई सरकारी तथा गैरसरकारी संस्था, सञ्चारमाध्यम र पत्रकारलाई समेत जवाफ मागेको छ।
यसै क्रममा निर्वाचन विश्लेषणका नाममा मत सर्वेक्षण गरी निश्चित दल वा उम्मेदवार विजयी हुने आशयका सामग्री प्रकाशन गरेको भन्दै ‘सेतोपाटी अनलाइन’ लाई पनि प्रेस काउन्सिलमार्फत स्पष्टीकरण सोधिएको छ। सञ्चारमाध्यम र पत्रकारको हकमा प्रेस काउन्सिलमार्फत नै आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाइएको जोशीले बताए।
आचारसंहिता कार्यान्वयनलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लामा अनुगमन अधिकृतहरू तोकिएका छन्। सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिक बाहेकका विषय र कोष नियन्त्रकलाई आर्थिक विषयको अनुगमन गर्ने जिम्मेवारी दिइएको छ। जिल्लास्तरमा प्राप्त उजुरीहरूमा स्थानीय तहबाटै स्पष्टीकरण सोधेर दोषी देखिएकालाई कानुनी कारबाही गर्ने प्रक्रिया सुरु भइसकेको छ।
आयोगले आचारसंहिता पालनाको प्रतिबद्धतालाई व्यवहारमै लागू गराउन केन्द्रदेखि जिल्ला तहका सबै संयन्त्रहरू सक्रिय रहेको दाबी गरेको छ।

























