
दमक । नेकपा (एमाले) द्वारा गठित नेशनल भोलिन्टियर फोर्सका संयोजक पुष्पराज श्रेष्ठले आफ्नो पार्टीको झण्डा जलाउने वा तोडफोड गर्ने काम भएमा चुप लागेर नबस्ने चेतावनी दिएका छन्। सोमबार झापा क्षेत्र नम्बर ५ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले विपक्षी र सरकारलाई यस्तो चेतावनी दिएका हुन्।
एमालेको झण्डा श्रमजीवी वर्गको आस्थाको प्रतीक भएको उल्लेख गर्दै श्रेष्ठले यसको अपमान गरिएमा देशभरका युवा र भोलिन्टियर शक्ति परिचालित हुने बताए। ‘हाम्रो झण्डा जलाउने र तोड्ने काम अझै रोकिएन भने यो देशका सारा युवा शक्ति परिचालन गरेर तपाईंहरूलाई चुनाव प्रचारका हरेक ठाउँमा रोक लगाउनेछौँ,’ उनले भने।
उनले वर्तमान सरकार र प्रहरी प्रशासन साना–साना सुरक्षा चुनौतीमा समेत निरीह बनेको आरोप लगाए। केही समयअघि एमालेको झण्डा जलाउँदा समेत प्रशासनले कुनै कदम नचालेको भन्दै उनले आपत्ति जनाए। प्रहरी प्रशासन र सरकारले सुरक्षा दिन नसकेकै कारण आफूहरूले स्वयंसेवक शक्ति परिचालन गर्नुपरेको उनको तर्क थियो।
























