
धादिङ । धादिङको बेनीघाट–रोराङ गाउँपालिका–५ भैंसीगौडामा आइतबार राति भएको बस दुर्घटनामा ज्यान गुमाउने १९ जनाकै पहिचान खुलेको छ। पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग २ ख १४२१ नम्बरको बस अनियन्त्रित भई त्रिशूली नदीको किनारमा खस्दा तीन विदेशी नागरिकसहित १९ जनाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रकाश दाहालका अनुसार मृतकहरूमा बेलायती नागरिक २४ वर्षीय स्टीवर्ट डोमिनिक इथान, भारतीय नागरिक ३२ वर्षीय मनीष शुक्ला र ४० वर्षीया चिनियाँ नागरिक जियाङ चोनुम रहेका छन्।
अन्य मृतकहरूमा कास्कीका ४० वर्षीय विवेक बास्तोला, २१ वर्षीया अंजलि क्षेत्री, २१ वर्षीय रोहित नेपाली र २६ वर्षीय सुजित नेपाली रहेका छन्। त्यसैगरी तनहुँका ४० वर्षीय ओमकुमार मल्ल, ५५ वर्षीया विष्णुमाया ढकाल, ४५ वर्षीय हरिप्रसाद सिग्देल, ६३ वर्षीय रुद्र प्रसाद ढकाल र २० वर्षीया अर्चना पौडेलको पनि दुर्घटनामा मृत्यु भएको छ।
दुर्घटनामा ज्यान गुमाउने अन्य नेपाली नागरिकहरूमा स्याङ्जाका ६३ वर्षीय चन्द्रबहादुर कुँवर र ४५ वर्षीय धन्श्याम सुवेदी, धादिङका ३० वर्षीय इन्जिनियर ठकुरी, काठमाडौँका ४२ वर्षीय लोपसाङ गोले र ३३ वर्षीया अनिशा महर्जन, पाल्पाका ५५ वर्षीय नवींद्र श्रेष्ठ तथा मोरङकी २७ वर्षीया हीरा चौधरी रहेका छन्। दुर्घटनामा २५ जना यात्रु घाइते भएका छन्। बस सडकबाट करिब २०० देखि ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ।

























