
विराटनगर । नेपाली कांग्रेसका नेता एवं मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. शेखर कोइरालाले फागुन २१ गते हुने निर्वाचनका लागि आफ्नो ८ बुँदे अठोटपत्र सार्वजनिक गरेका छन्।
‘संसदीय सर्वोच्चता, संविधानको रक्षा, स्थायित्व र समुन्नति’ लाई मुख्य मन्त्र मान्दै उनले लोकतन्त्र, सुशासन, शिक्षा, स्वास्थ्य, किसान, डिजिटल विकास, उद्योग र बाढी समाधानका क्षेत्रमा आफ्ना योजनाहरू अघि सारेका हुन्।
कोइरालाले लोकतन्त्रलाई संस्थागत गर्न संविधानको पूर्ण कार्यान्वयन र आवश्यकताअनुसार संशोधनका लागि संसदमा सक्रिय भूमिका खेल्ने अठोट गरेका छन्।
संघीयताको सुदृढीकरण, प्रेस स्वतन्त्रता र विधिको शासनको रक्षा गर्दै सार्वजनिक संस्थाहरूमा हुने राजनीतिक हस्तक्षेप अन्त्य गर्ने उनको प्रतिबद्धता छ। ‘लोकतन्त्र सुरक्षित भए मात्रै विकास दिगो हुन्छ’ भन्ने सन्देशका साथ उनले नीति निर्माणमा नागरिक सहभागिता बढाउने योजना राखेका छन्।
औद्योगिक पुनर्जागरणलाई प्राथमिकता दिँदै उनले ‘रोजगारीका लागि विदेश होइन, आफ्नै क्षेत्र’ भन्ने नारा अघि सारेका छन्। बन्द र कमजोर उद्योगहरू पुनः सञ्चालन गर्ने, साना तथा मझौला उद्योगलाई कर सहुलियत दिने, विराटनगर विमानस्थलको स्तरोन्नति गर्ने र विराटनगरलाई विशेष आर्थिक क्षेत्रका रूपमा विकास गर्ने उनको योजना छ।
यस्तै, मोरङका बूढीखोला, केशलिया, सिंघिया र गछिया जस्ता नदीहरूको दीर्घकालीन व्यवस्थापन गरी बाढी र डुबानको स्थायी समाधान खोज्ने उनले बताएका छन्।
कृषि क्षेत्रमा जलवायु अनुकूल प्रविधि र बीउको प्रयोग, सिँचाइ सुविधा र कृषि बीमालाई उनले जोड दिएका छन्। शिक्षा र स्वास्थ्यलाई आधारभूत अधिकारका रूपमा व्याख्या गर्दै उनले डिजिटल कक्षा, प्राविधिक शिक्षा र सरकारी अस्पतालहरूको स्तरोन्नति गर्ने अठोट गरेका छन्।
डिजिटल नेपालको जग स्थानीय तहबाटै बसाल्न आईटी हब र स्टार्टअप कोषको अवधारणा उनले ल्याएका छन्। भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउँदै सहकारी सुधार, बचत सुरक्षा र सुशासन कायम गर्ने उनको मुख्य लक्ष्य रहेको छ।
























