रवि लामिछानेको झापामा व्यस्त दौडाहा

Share this
701shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १२, मंगलबार १२:२८

बिर्तामोड । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज (मंगलबार) झापा र सुनसरीको अत्यन्तै व्यस्त राजनीतिक दौडाहामा छन्। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी आयोजना गरिएको ‘जनसम्पर्क तथा घण्टी अभिवादन’ कार्यक्रमका लागि लामिछानेले आजै झापाका विभिन्न ६ वटा स्थानमा आयोजना हुने कार्यक्रमहरूलाई भ्याएका छन्।

आज बिहान ८ बजे झापा क्षेत्र नम्बर ३ को चन्द्रगढीबाट सुरु भएको उनको यात्राले काँकडभिट्टा, इटाभट्टा, धुलाबारी, चारआली, बिर्तामोड, चारपाने र लक्ष्मीपुर क्षेत्रका मतदातालाई समेटेको छ। बिहान १०:२० मा सुरुङ्गा र झिलझिले हुँदै उनी अहिले दमकमा आयोजित कार्यक्रममा सहभागी छन्। निर्धारित समयभन्दा केही अबेर भए पनि दमकमा उनलाई भेट्न समर्थकहरूको ठूलो भिड लागेको छ।

झापाका कार्यक्रमहरू सकाएलगत्तै सभापति लामिछाने सुनसरीको इटहरी प्रस्थान गर्नेछन्। इटहरीमा आयोजना हुने कोशी प्रदेश लक्षित विशेष सभामा लामिछानेका साथै पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले समेत सम्बोधन गर्ने कार्यक्रम छ। रवि र बालेन पहिलो पटक एउटै मञ्चमा देखिने भएपछि इटहरीमा सर्वसाधारणको उत्साह निकै बढेको छ।

दुई प्रभावशाली नेताहरू एउटै कार्यक्रममा सहभागी हुने भएपछि इटहरीको सुरक्षा व्यवस्था र जनसहभागितालाई व्यवस्थापन गर्न स्थानीय प्रशासनले विशेष तयारी गरेको छ। रास्वपाले यस चुनावी अभियानमार्फत कोशी प्रदेशमा आफ्नो पकड बलियो बनाउने रणनीति लिएको देखिन्छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.