
काठमाडौं । सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै देशभर ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले फागुन २०, २१ र २२ गते गरी ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । निर्वाचनको तयारी, मतदान र मतदानपश्चात् हुन सक्ने व्यवस्थापनलाई मध्यनजर गर्दै सरकारले यो निर्णय लिएको हो।
निर्वाचन आयोगले मतदानमा मतदाताहरूको बढीभन्दा बढी सहभागिता जुटाउन र कर्मचारी एवं सुरक्षाकर्मी परिचालनमा सहजता ल्याउन सरकारसमक्ष ३ दिन बिदा दिन सिफारिस गरेको थियो ।
आयोगको सोही सिफारिस र निर्वाचनको संवेदनशीलतालाई ध्यानमा राख्दै सरकारले बिदा दिने निर्णय गरेको जनाइएको छ। यो निर्णयसँगै फागुन २० गतेदेखि २२ गतेसम्म देशभरका सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक निकायहरू बन्द रहनेछन् ।



















