मोरङ-४ मा कांग्रेस महामन्त्री गुरुराज घिमिरेको अग्निपरीक्षा

Share this
696shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १३, बुधबार ०७:३१

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरे आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मोरङ क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यको दौडमा होमिएका छन् । नेपाली कांग्रेसभित्र वैचारिक नेताको छवि बनाएका गुरुराज पार्टीकाे महामन्त्री भएका कारण उत्साहित देखिएका छन् ।

२०७९ सालको निर्वाचनमा उनी मोरङको निर्वाचन क्षेत्र नम्बर ४ (१)बाट कोशी प्रदेशसभा सदस्यका उम्मेदवार थिए । तर, नेकपा (एमाले)का जयप्रकाश चौधरीसँग ४ सय १ मतको झिनो अन्तरले पराजित भए । जयप्रकाशले १५ हजार ४ सय ६५ मत प्राप्त गर्दा गुरुराज १५ हजार ५८ मतमा रोकिएका थिए ।

याे पटक उनी ३९ बुँदे चुनावी प्रतिबद्धतासहित यतिबेला घरदैलोमा व्यस्त छन् । घिमिरे यसपटक प्रतिनिधिसभा छिर्ने दाउमा छन् । पार्टीको विशेष महाधिवेशनबाट महामन्त्री बनेपछि उनी थप शक्तिशाली छन् ।

यस क्षेत्रमा घिमिरेका मुख्य प्रतिस्पर्धी नेकपा उम्मेदवार अमनलाल मोदी हुन् । एमालेका जीवन घिमिरे र रास्वपाका सन्तोष राजवंशी पनि चुनावी दाैडमा छन् ।

स्थानीय तहको मत परिणामअनुसार २३ वटा वडामध्ये १८ वटामा एमाले विजयी भएकाले घिमिरेका लागि चुनौती देखिन्छ । यद्यपि, कांग्रेसले आफ्नो सांगठनिक सुधार र घिमिरेको शालिन व्यक्तित्वलाई जितको मुख्य आधार मानेको छ ।

थारु बाहुल्य क्षेत्र भएका कारण याे क्षेत्रमा माेदीकाे प्रभाव बलियाे छ । २०७४ र २०७९ काे निर्वाचनमा उनी साेही क्षेत्रबाट विजयी भएका थिए । नयाँ शक्तिकाे रुपमा उदाएकाे रास्वपाको प्रभावले ठूला तीन दललाई चुनाैति थपेकाे छ ।

मतदानका लागि यस क्षेत्रमा ४० वटा मतदान स्थल र १ सय ३१ वटा मतदान केन्द्र तोकिएका छन् । २०७९ मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा ३० हजार ६ सय १२ मतसहित अमनलाल मोदीले विजयी हुँदा एमाले उम्मेदवार विनोद ढकालले २४ हजार ४ सय ६३ मत प्राप्त गरेका थिए ।

गत मंसिरमा सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा ग्रामथान गाउँपालिका अध्यक्षमा तत्कालीन (माओवादी केन्द्र)का उम्मेदवार नमोनारायण माझी निर्वाचित भएका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.