
इलाम। इलाम–२ को उपनिर्वाचनमार्फत प्रतिनिधि सभामा प्रवेश गरेका सुहाङ नेम्बाङले छोटो समयमै आफूलाई परम्परागत राजनीतिभन्दा फरक र युवामैत्री नेताका रूपमा स्थापित गरेका छन्।
सुरुमा पारिवारिक विरासतका कारण मात्र आएको भनी गरिएका शङ्काहरूलाई चिर्दै उनले १६ महिनाको संसदीय कार्यकालमा इलामका मुद्दाहरूलाई सशक्त रूपमा उठाए। विशेष गरी चिया किसानका समस्या, सडक पूर्वाधारको ढिलासुस्ती र एम्बोस्ड नम्बर प्लेटको विवादमा उनले संसदमा खेलेको भूमिकालाई मतदाताले अर्थपूर्ण रूपमा हेरेका छन्।
निर्वाचनको तथ्याङ्क हेर्दा यस क्षेत्रमा एमाले र कांग्रेसबीच सधैँ कडा टक्कर देखिन्छ। २०७९ को निर्वाचनमा सुवासचन्द्र नेम्वाङले डम्बर खड्कालाई मात्र ११४ मतान्तरले पराजित गरेका थिए भने उपनिर्वाचनमा सुहाङले ५ हजार ८३० को फराकिलो मतान्तरले जित निकाले।
उपनिर्वाचनमा सुहाङलाई माओवादीको साथ थियो भने कोशी प्रदेश नामकरणको मुद्धा बोकेका डकेन्द्र थेगिमले ११ हजार ४४५ मत र रास्वपाले ५ हजार बढी मत ल्याएका थिए। यसपटक भने माओवादी र समाजवादी मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीले आफ्नै उम्मेदवार उठाएकाले मत बाँडिने निश्चित छ।
काँग्रेस यसपटक २०४८ पछिको इतिहास बदल्दै इलाम–२ मा नतिजा आफ्नो पक्षमा पार्ने दाउमा छ। राष्ट्रिय परिवर्तन पार्टीका दिवस राई र श्रम संस्कृति पार्टीको उपस्थितिले पनि परम्परागत मत प्रभावित पार्ने देखिन्छ। कुनै पनि दलबीच गठबन्धन नभएकाले अहिलेको प्रतिस्पर्धा त्रिकोणात्मक वा बहुकोणीय हुने आकलन गरिएको छ।
संसद्को शून्य समयमा इलामका अस्पताल, केचना–कञ्चन्जंघा र दमक–चिसापानी जस्ता सडक योजनाका लागि दबाब दिँदै आएका सुहाङलाई आफ्नो कामको रक्षा गर्दै विरासत जोगाउने चुनौती छ।
























